धरान (सुनसरी), २ चैत: इटहरीमा जारीे तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा लोहोरुङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज इटहरीस्थित जनता बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा चुत्तन स्पोर्टिङ क्लब तेह्रथुमलाई ३–२ गोलले पराजित गर्दै लोहोरुङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । लोहोरुङ क्लबका अमित गजमेरले खेलको ५१औँ मिनेटमा पहिलो गोल गरेका थिए भने मिलन लिम्बूले ५६औँ मिनेटमा गोल थपे ।
यस्तै, विनोद राईले ६७औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् । चुत्तन स्पोर्टिङ क्लबका सन्तोष लिम्बूले ३८औँ र ८३औँ मिनेटमा दुई गोल गरेका थिए । आजको खेलमा लोहोरुङ फुटबल क्लबका विवेक राई ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई नगद रु पाँच हजार पाँचसहित मेडल प्रदान गरिएको क्लबका सचिव विज्ञान राईले जानकारी दिनुभयो ।
मङ्गलबार हुने चौथो क्र्वाटरफाइनल खेलमा आयोजक टोली द योङ्ग ब्रदर्स क्लब इटहरी र कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडी (भारत)बीच प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो । यही चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले रु चार लाख चार हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु दुई लाख दुई हजार दुई सय प्रदान गरिने छ ।
इटहरी उपमहानगरपालिकाको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संरक्षकत्वमा सञ्चालन भइरहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही रु १३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा विगत दुई वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।





प्रतिक्रिया