काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दल निर्वाचनमा केन्द्रित नहुँदा अस्थिरता निम्तिन सक्ने बताएकी छन्।
प्रधानमन्त्री कार्यालयमा दलहरुसँग निर्वाचनका विषयमा भएको छलफलका क्रममा केही दलले संसद पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले अस्थिरता निम्तिन सक्ने बताएकी हुन् ।
प्रधानमन्त्री कार्यालयमा दलहरूसँग निर्वाचनका विषयमा छलफल गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा निर्वाचनबाट भाग्नुको विकल्प नहुने बताइन्। ‘निर्वाचनको घोषणापछि पनि कुनै कुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्छ।
अब संसद् पुनःस्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ। लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प होइन। तसर्थ लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि दलले जनमतको सम्मान नगरी पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहोस् भनी म विशेष आग्रह गर्दछु,’ उनले भनिन्।


प्रतिक्रिया