विवादित भूमि नेपालको हो भन्ने आधारहरु के के हुन् ?

काठमाडौं । भारत र चीनबीच लिपुलेक पासलाई व्यापारिक नाका बनाउने सहमतिसँगै नेपाल र भारतबीच सो भूमि नेपालको कि भारतको भन्ने विवाद जारी छ ।
इतिहास हेर्ने हो भने नेपालको सबैभन्दा पश्चिमी विन्दु लिम्पियाधुरा नेपालको भन्ने आधार भेटिन्छन् । त्यसैगरी सोही विन्दु नै त्रिदेशीय सीमाना हो भन्ने कुरा भारतमा ब्रिटिशहरुको शासन रहँदा त्यहाँ ब्रिटिस सरकार र इस्ट इन्डिया कम्पनीबीच पत्र आदान प्रदान भएको पाइन्छ ।

नेपालले लिपुलेकदेखि लिम्पियाधुरासम्म लाई संवैधानिक अंग बनाएको लिपुलेकमा भारत र चीनले व्यापारिक नाका बनाउने सहमति गरेसँगै नेपाल र भारतबीच नोकझोक सुरु भएको छ ।
भारतले लिपुलेक, लिम्पियाधुरा, कालालापानी भारतको हो भनी धारणा सार्वजनिक गर्दै आइरहेको छ ।
यसैबीच नेपालले पनि भारतसँग आधारभूत तथ्य प्रमाण नभएको र सो भूमि नेपालकै हो भनी आफूसँग भएका धारणा सार्वजनिक गर्दै आइरहेको छ ।
आजको यो सामग्रीमा भारत र चीनले व्यापारिक नाकाको रुपमा प्रयोग गर्ने भनिएको भूमि अर्थात् लिपुलेक नेपालकै हो भन्ने आधारहरु पस्किने प्रयास हुनेछ ।
सर्वप्रथम नेपालले विवादित लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूमि नेपालकै हो भन्ने कुरा हाइडोलोजिक स्टडी, हाइडोग्राफी, क्वाटर भोल्यूमले प्रमाणित गर्ने तथ्यलाई अघि सारेको छ ।
त्यसैगरी इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिले स्पष्टसँग काली नदीसमेत नेपालको हो भनी पुष्टि गरेको छ ।
नेपालले नदी साझा हुने भनेर नदीको मध्यभागलाई आधार बनाएर सिमांकन गरी उदारता देखाएको विज्ञहरुको राय छ ।
यस्तै विवादित लिपुलेक देखि कालापानीसम्मको भूभाग नेपालकै हो भनी इस्ट इन्डिया कम्पनीले प्रकाशन गरेका नक्साहरुले पनि पुष्टि गरेका छन् ।
इस्ट इन्डियनले प्रकाशन गरेका नक्साहरुमा सन् १८१९को नक्सा, सन् १८२७ को नक्सा, १८३६को नक्सा, १८५०को नक्सा, सन् १८५६को नक्सा र सन् १९५७ सम्मका नक्साले नेपाल भारतबीचको सीमा लिम्पियाधुराबाट आउने काली नदी नै भएको स्पष्ट पारेका छन् ।
उल्लेखित नक्साहरु ब्रिटिस सरकारकै अनुमतिमा प्रकाशित भएका हुन् ।

विवादित भूभाग नेपालकै हो भन्ने अर्को आधार व्यास भ्याली हो । जुन स्थानमा जुम्लाका राजा रजौटाहरुले राज गरेका थिए । जहाँ नाभी, कुटी, गुञ्जीजस्ता स्थान पर्छन् भनी केही तथ्यहरु पाइएका छन् ।
यस्तै भैरव रिसालका अनुसार विसं २०१८ सालमा नेपालले नाभी, कुटी र गुञ्जीमा नेपालले जनगणना लिएको थियो । सो जनगणनामा उनी स्वयं उपस्थित थिए ।
विवादित भूमिमा रहेका जनसंख्याले तिरो तिरेका कागजपत्र पनि नेपालसँग छन् । तर, सो भूमिको नक्सा २०३१ सालपछि नेपालको नक्सामा छुटाइएको थियो ।
यसको कारण भारतले नै नेपालको नक्सा निकालिदिने भएकाले पनि सो भूमि नेपालको नक्सामा छुटेको बताइन्छ ।
यसलाई प्राविधिक कम्जोरीका रुपमा लिई भूमि गुम्ने भन्ने नहुने विज्ञहरुको राय छ ।
सुगौली सन्धिका साथै सन् १९२३को सन्धि र १९५०को सन्धि, सिमासम्बन्धी सम्झौताले पनि सो भूमि नेपालकै भएको पुष्टि गरेको छ ।
त्यसैगरी तिब्बत र नेपाल सरकारबीच भएका केही सम्झौता र घटनाक्रमहरुले पनि सो भूमि नेपालकै भएको प्रमाणित गरेको विज्ञहरुको राय छ ।
सो भूमि नेपालको भन्ने अर्को आधार नेपाल अंग्रेज युद्ध समाप्तिपछि र सुगौली सन्धि हुनुअघि तत्कालीन इस्ट इन्डिया कम्पनीले महाकाली नदी नेपालसँगको सीमाना उल्लेख गरेको एक दस्तावेज हो ।
यस्तै, सन् १८१५ मा तत्कालीन इस्ट इन्डिया कम्पनीका जनरत लर्ड मोहिराले ब्रिटिस सरकारलाई लेखेको एक गोप्य पत्रमा काली नदीलाई उपनिवेशकालीन भारत र नेपालको सीमानाको रुपमा स्वीकार गरिएको थियो ।
कुमाउ युद्धमा अंग्रेज फौजले गोर्खाली फौजलाई हराएपछि लेखिएको उक्त पत्रमा नेपालसँगको सीमामा काली नदीलाई नै उल्लेख गरिएको छ । सो पत्र लेखिएको एक वर्ष नबित्दै सुगौली सन्धि भएको थियो ।
जसको पाँचौ बुँदामा नेपालका राजाहरुले काली नदीको पश्चिम भूभागलाई आफ्नो भनी दाबी नगर्ने भनी उल्लेख छ । सुगौली सन्धि हुनुभन्दा अघि लेखिएको सो पत्रलाई गोप्य पत्रको रुपमा परिभाषित गरिएको छ ।
यसका अलावा सन् १८२४ मा प्रकाशित पेपर रेस्पेटिड द नेपाल वार पुस्तकमा समाहित गरिएका छन् ।
यस्तै लर्ड मोहिराले १८१५ जुन १ तारिखमा लेखेको पत्रले सो विवादलाई सुल्झाउन सहयोग गर्ने भनी विज्ञहरुको राय छ ।
४९ बुँदे सो पत्रको ३७औँ बुँदामा कुमाउ विजय उपलब्धिमूलक भएको भन्दै कालीनदीलाई सीमाना बनाउने भनी उल्लेख गरिएको छ ।
हिमालयबाट निस्किने काली नदीलाई सीमाना बनाउन सहज हुनेछ ।
यो विवाद टुङ्ग्याउन सन् १८१७, १८२१, १८२७ र १८५६ मा तत्कालीन ब्रिटिश सर्भे अफ इन्डियाले जारी गरेका नक्साहरू सहयोगी हुने सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन्।
उनका अनुसार यी नक्साहरूमा लिम्पियाधुराबाट निस्किएको नदीलाई काली नदी भनेर स्पष्ट रूपमा दिखाइएको छ ।
त्यो नदीभन्दा पूर्वतर्फ गुन्जी, कुटी, नाभी, जोलिङकाङ अनि पूर्वतर्फ कालापानी र त्यो भन्दा पनि पूर्वतर्फ लिपुलेक भन्ज्याङ परेको छ ।
उनले आफूसँग अमेरिकाको लाइब्रेरी अफ कङ्ग्रेस, ब्रिटिश म्यूजीअम लाइब्रेरी, चीनको न्याश्नल लाइब्रेरीमा गएर ल्याएका नक्साहरू भएको खुलाएका छन् । जसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर प्रमाणित गर्दछन्।

नेपाली विज्ञहरूका अनुसार ब्रिटिश सर्भेअर अफ इन्डियाले सन् १८२७ मा बनाएको नक्सामा स्पष्ट गरी लिम्पियाधुराबाट निस्किएको नदीलाई काली भनेर उल्लेख गरिएको छ।
त्यसलाई सन् १८५६ मा सर्भे अफ इन्डियाले प्रकाशित थियो ।

प्रतिक्रिया