काठमाडौँ । अविरल वर्षासँगै पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ मा ७, पोखरा-३२ मा ३ र मादी गाउँपालिका वडा नं. ११ मा १ जनाको मृत्यु भएको हाे ।
पोखरा १९ को तल्लाकोट टारी भन्ने स्थानमा गएराति १०ः२० बजे घर पछाडिबाट आएको पहिरोले कुलबहादुर परियारको टिनले छाएको १ तले कच्ची घर पुरिँदा एकै परिवारका ६ जना र उद्धार गर्न गएकी १ महिलाको ज्यान गएको हो ।
मृत्यु हुनेमा घरधनी ४६ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीय मनकुमारी परियार, कुलबहादुरकी आमा ८५ वर्षीय लक्षीमा परियार, छोरी १५ वर्षीय प्रशना परियार छन् ।
यसैगरी कुलबहादुरकी विवाहित छोरी चितवन घर भएकी २० वर्षीय प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियारको पनि सोही घटनामा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
साथै घटनालगत्तै उद्धार गर्न गएकी छिमेकी ५६ वर्षीय राधिका परियारको लडेर मृत्यु भएको हाे ।
सोहि घटनामा परि राधिकाका छोरा ३१ वर्षीय कुमार परियार र कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
यता पोखरा महानगरपालिका वडा नं ३२ को चैतपुर बाह्रबिसेमा शुक्रबार बिहान २ः१५ बजे पहिरोमा पुरिँदा ३ जनाको ज्यान गएको छ । स्थानीय आरती ओझाको टिनले छाएको १ तले घर पछाडिबाट आएको पहिरोले पुरिँदा उनकी २ छोरीसहित ३ जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा १८ वर्षीय अनिता ओझा, ११ वर्षीय अनुष्का ओझा र दाइको छोरा ९ वर्षीय प्रतिक सुवेदी छन् । सो घटनामा घरधनी ४० वर्षीया आरती घाइते भएको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यता कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो पात्लेस्थित पहिरोले घर पुरिँदा १ वृद्धाको ज्यान गएको छ । मृत्यु हुनेमा ८० बर्षीय माइतीकुमारी गुरुङ छन् ।
अविरल वर्षासँगै शुक्रबार बिहान १ बजे घर माथिबाट आएको पहिरोकाे कारण जस्ताले छाएको १ तले कच्ची घर पुरिँदा सो घटना भएकाे हाे।
सो घटनामा परेका ५५ वर्षीय ओमबहादुर गुरुङको सकुशल उद्धार भएकाे छ ।







प्रतिक्रिया