काठमाडौं । शनिबारसम्मै देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागकका अनुसार बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने छ ।
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले मंगलबार रातिदेखि नै नेपालका पूर्व र मध्य भागमा बदली र वर्षा हुँदै आएको छ । बुधबार दिनभरजसो पानी परेको थियो । यो क्रम आज बिहीबार पनि जारी रहने मौसमविदले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार विहीबार बिहान कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
उनका अनुसार आज दिनभरी नै देशका अधिकांश स्थानमा बादल लाग्ने छ । ‘बुधबार र बिहीबारको तुलनामा शुक्रबार अलिकति सुधार जस्तो हुन्छ । तर उल्लेखनीय सुधार हुँदैन,’ मौसमविद पुडासैनीले भने, ‘शनिबार फेरि वर्षा हुने छ ।’







प्रतिक्रिया