इरानले अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको यथार्थ कि हल्ला ?

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा दोस्रो अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको दाबी गरेको छ।

आईआरजीसीका प्रवक्ता ब्रिगेडियर जनरल होसेन मोहेबीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी मानवरहित अन्डरवाटर साधनका लागि होर्मुज जलमार्ग आईआरजीसी नौसेनाको ‘सिकार स्थल’ बनेको दाबी गरेका छन्।

उनका अनुसार यसपटक ‘एमके–१८ मोड २ किङफिस’ ड्रोन नियन्त्रणमा लिइएको हो। उक्त ड्रोनमा सोनार तथा सटीक नेभिगेसन प्रणाली जडान गरिएको र यसको मूल्य करोडौँ डलर रहेको इरानी पक्षको दाबी छ।

आईआरजीसीले यसअघि उक्त जलयानलाई ‘रेमस ६००’ का रूपमा पहिचान गर्दै त्यसबाट प्राप्त डेटा निकाल्न आफ्ना विज्ञहरू परिचालन गरिएको जनाएको थियो।

इरानको अर्धसरकारी समाचार संस्था फार्सका अनुसार आईआरजीसी नौसेनाले गुप्तचर तथा विद्युतीय युद्धसम्बन्धी टोलीसँगको समन्वयमा कारबाही सञ्चालन गरी होर्मुज जलडमरूमध्यमा निगरानीका लागि प्रयोग भइरहेको अमेरिकी मानवरहित जलयान नियन्त्रणमा लिएको हो।

तर, अमेरिकी सेनाले भने इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो अन्डरवाटर जलयान कब्जा गरेको दाबी अस्वीकार गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले अल जजिरासँग कुरा गर्दै अमेरिकी सेनाले आफ्ना सबै सञ्चालनमा रहेका ड्रोन सम्पत्तिमाथि पूर्ण नियन्त्रण कायम राखेको बताएका छन्। उनले आईआरजीसीको दाबीलाई निराशाजनक भन्दै अमेरिकी पक्षले उक्त दाबी अस्वीकार गरेको स्पष्ट पारेका छन्।

यससँगै होर्मुज जलडमरूमध्यमा अमेरिकी र इरानी पक्षबीच मानवरहित निगरानी तथा सैन्य गतिविधिलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। दुवै पक्षका दाबी परस्पर विरोधी रहेकाले ड्रोन वास्तवमै नियन्त्रणमा लिइएको हो वा होइन भन्ने विषयमा स्वतन्त्र पुष्टि भने भइसकेको छैन।

प्रतिक्रिया