प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, आज चार वटा संसदीय समितिको बैठक पनि बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान १० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गरिनेछ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक बिहान १० बजे नै बस्नेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ । बैठकमा नेपालमा स्वदेशी तथा विदेशी, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनले लगानीमा पारेको प्रभाव तथा राष्ट्रिय र प्रादेशिक लगानी सम्मेलनको व्यवस्थापनबारे छलफल हुनेछ । साथै लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका विषयमा पनि छलफल गरिनेछ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका विषयमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार