काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । जात्राका लागि रथ निर्माण, सरसफाइ, रङरोगन तथा अन्य आवश्यक काम तीव्र रूपमा भइरहेको छ ।
दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ ।
इन्द्रजात्रालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न ३१ वटा गुठी खलः समितिसँग आबद्ध छन् । उनीहरूसँग पटक–पटक छलफल भइसकेको र शान्ति सुरक्षाका विषयमा नेपाल प्रहरीसँग समेत समन्वय गरिएको अध्यक्ष शाक्यले बताए । राष्ट्रिय पर्वका रूपमा मनाइने इन्द्रजात्रामा स्वदेशी तथा विदेशी पर्यटकको समेत ठूलो सहभागिता हुने भएकाले उनीहरूको व्यवस्थापनमा विशेष ध्यान दिइएको उनले बताए ।
नेवार समुदायमा विशेष महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत क्षेत्रमा परम्परागत रूपमा मनाइन्छ । जात्राका क्रममा हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने गरिन्छ, जसलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा पनि छ ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिएको पाइन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा समेत यसको विशेष महत्त्व रहेको छ ।
इन्द्रजात्राका अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ । लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाचसमेत प्रस्तुत गरिन्छ ।
भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा प्रस्तुत गरिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण हुन् । लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि जात्रा विधिवत् रूपमा समापन गर्ने परम्परा रहेको छ

प्रतिक्रिया