काठमाडौं । होर्मुज जलमार्ग र ओमानको खाडी क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य मुठभेड थप तीव्र बनेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले ‘अनधिकृत’ जलमार्ग प्रयोग गरेको आरोपमा तीन तेल ट्यांकरसहित तीन अमेरिकी सैन्य तथा व्यापारिक पोतमाथि आक्रमण गरेको दाबी गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी युद्धपोतमाथि इरानले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाहीस्वरूप उसका तीन कच्चा तेल ट्यांकरमाथि आक्रमण गरिएको जनाएको छ । तीमध्ये एउटा ट्यांकर ओमानको खाडीमा पूर्ण रूपमा डुबेको दाबी गरिएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै ‘एम/टी काइलो’ नामक इरानी कच्चा तेल ट्यांकर ओमानको खाडीमा आगोको लप्कासहित डुबेको जनाएको छ ।
सेन्ट्रल कमान्डका कमान्डर एड्मिरल ब्राड कुपरले भनेका छन्, “यदि, आईआरजीसीले हाम्रा दुई पोतमाथि प्रहार गर्छ भने हामी उनीहरूका तीन ट्यांकर ध्वस्त पारेर उच्च आर्थिक मूल्य चुकाउन बाध्य पार्नेछौँ ।”
एम/टी काइलोबाहेक ‘एम/टी डाउनी’ र ‘एम/टी स्टार्क १’ नामका अरू दुई इरानी तेल ट्यांकरमाथि पनि अमेरिकी ड्रोन तथा लडाकु विमानले आक्रमण गरेको जनाइएको छ । ती दुवै ट्यांकरलाई निष्क्रिय पारिएको छ ।
आईआरजीसीले होर्मुज जलमार्गको आफ्नो ‘सुरक्षित क्षेत्र’मा प्रवेश गर्न खोजेको अमेरिकी रिमोट–अपरेटेड ड्रोन बोटमाथि आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ ।
आईरजीसीले रणनीतिक जलमार्ग पूर्ण रूपमा इरानको नियन्त्रणमा रहेको भन्दै अमेरिकालाई यो क्षेत्रबाट बाहिरिन चेतावनी दिएको छ ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानलाई कडा चेतावनी दिएका छन् । अमेरिकी नौसेनाका जहाजमाथि आक्रमण जारी राखे इरानका बाँकी तेल ट्यांकरलाई समेत निसाना बनाइने उनले बताएका छन् ।
इरानको परराष्ट्र मन्त्रालयले आफ्ना तेल ट्यांकरमाथि गरिएको अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई ‘युद्ध अपराध’को संज्ञा दिएको छ । मन्त्रालयले उक्त कारबाही आर्थिक युद्धलाई तीव्र बनाउने उद्देश्यले गरिएको आरोप लगाएको छ ।







प्रतिक्रिया