सम्झनामा सन् २०२५

काठमाडौं । सन् २०२५, विश्व इतिहासमा धेरै आरोह-अवरोह छिचोल्दै समाप्त भएको छ।

यो वर्ष पनि विश्व राजनीतिको चर्चाको केन्द्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्न सफल भएका छन् । उनकै नीतिले विश्वमा नयाँ व्यपार युद्धको जन्म भएको छ । युरोप र अमेरिकाको सम्बन्ध अहिलेसम्मकै चिसो बनेको छ । युक्रेनमा रुसको आक्रमण वर्षभरी नै जारी रह्यो । मध्यपूर्वको तनाव भने यो वर्ष केही मत्थर भएको छ ।
हाडलाइनर नेता ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिको कारण विश्वका थुप्रै देशहरु चेपुवामा परेका छन् । आफ्ना दुश्मन मात्रै नभएर मित्रराष्ट्रहरुमाथि समेत ट्रम्पले कर युद्ध जारी छ । यसले विश्व व्यापारमा नयाँ ध्रुवीकरण मात्रै गरेको छैन, तर्साएर आफ्ना एजेण्डा लाद्ने नयाँ ट्रेण्डको शुरुवात भएको छ । अमेरिकामा रहेका आप्रवासीहरू सामूहिक निर्वासनको मारमा परेका छन् । राष्ट्रसंघ लगायतका बहुराष्ट्रिय फोरममा अमेरिकी बजेट कटौतीले सामुहिकताको सोच फितलो बन्दै गएको छ ।
व्यापरमा अमेरिकी प्रभावले अन्य देशहरुलाई संकटमा पार्दा द्धन्द्ध व्यवस्थापन र युद्धको अन्त्यमा भने ट्रम्प निकै प्रभावकारी बनेका छन् । सन् २०२३ देखि गाजापट्टीमा आक्रमण गरिरहेको इजरायललाई मनाएर उनले युद्धविराम गराएका छन् । रुस युक्रेन युद्ध अन्त्यको लागि उनको प्रयास जारी नै छ । दक्षिण एसियाली आणविक राष्ट्रहरु भारत र पाकिस्ताबीच एकाएक भड्किएको युद्ध रोक्न ट्रम्पले नै निर्णायक हस्तक्षेप गरेको बताइएको छ । पछिल्लो सयम भेनेजुएलामाथिको अमेरिकी नाकाबन्दी र तेल ट्यांकरमाथिको आक्रमण पनि चर्चामा छ।

ट्रम्प पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन वर्षको दोस्रो चर्चित हेडलाइन बनेका छन् । युक्रेनमा जारी रुसी युद्ध र शान्ति प्रयासले निष्कर्ष निकाल्न नसकेपनि वर्षभरी चर्चा कमायो ।
यो वर्ष इजरायलले इरानसँग युद्ध लड्यो । हमासलाई सहयोग गरेको भन्दै इजरायलले गत जुन १३ तारिखमा तेहरान र आसपास हमला गयो १० दिन चलेको युद्धमा इरानतर्फ थुप्रै हताहत भयो ।
भारतका लागि सन् २०२५ आत्मविश्वास र आकांक्षाको वर्ष रह्यो । यो वर्ष भारतले आर्थिक विस्तार, पूर्वाधार विकास र रक्षा आत्मनिर्भरतामा फड्को मार्‍यो । अमेरिकासँग व्यपार टकराव बढ्दै जाँदा रुस र चिनसँग सन्तुलित सम्बन्धमार्फत भारतले आफू नझुक्ने सन्देश दिएको छ । वर्षको अन्त्यमा आइपुग्दा भारत विश्वका ठूला अर्थतन्त्रको सूचीमा जापानलाई उछिन्दै चौथो स्थानमा उक्लिन सफल भएको छ । छिमेकी चीनसँगको प्रतिस्पर्धालाई पूर्ण टकरावमा रूपान्तरण हुन नदिने सावधानी पनि भारतले अपनाएको छ ।
वर्ष २०२५ चीनका लागि स्वमूल्यांकन र पुनः संरचनाको वर्ष बन्यो । दशकौंको तीव्र आर्थिक वृद्धिपछि चीन सुस्त अर्थतन्त्र, रियल इस्टेट संकट र युवामाझ बढ्दो बेरोजगारीजस्ता चुनौतीको सामना गरिरहेको छ । यस्ता अवस्थाबीच चीनले घरेलु बजार सुदृढीकरण, प्रविधिमा आत्मनिर्भरता र राज्य-केन्द्रित विकास मोडेललाई थप बलियो बनायो । कृत्रिम बौद्धिकता, उच्च प्रविधिका सामग्री उत्पादन र सैन्य आधुनिकीकरणले चीनलाई विश्वका अग्रणी मुलुकको सूचीमा स्थापित गराउन सफल भएको छ ।
भारतमा निर्वासित जिवन बिताईरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाउदा दक्षिण एशियाभर तरंग फैलिएको छ । बंगलादेशमै हिन्दु यवा मारिएको घटना र भड्किएको प्रदर्शनले भारतसँगको सम्बन्ध झनै तिक्तता बनाएको छ । बंगलादेशमा चुनाव नजिकदिै जाँदा बेलायतमा निर्वासनमा रहेका नेता रहमान ढाका फर्किएका छन् । यसको केही दिनमै उनकी आमा तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनले बंगलादेश शोकमा डुबेको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरी त्यहाँको एक अदालतले १४ वर्ष र खानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय सुनाएक छ ।
वर्ष २०२५ मा जर्मनी र क्यानाडामा नेतृत्व परिवर्तन भयो । जापान, नामिबिया र नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएका छन् । गत भदौमा नेपालमा भएको जेनजी आन्दोलन र सत्तापलटले पनि विश्वभरीचर्चा पायो । नवयुवाको आन्दोलनले २४ घण्टामै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गराएको घटनालाई विश्वले फरक राजनीतिक घटनाको रुपमा लियो ।
भारत–पाकिस्तान युद्ध
मे महिनामा भारत र पाकिस्तानबीच भएको चार दिने द्वन्द्व सीमाको. सामान्य झडपमात्रै थिएन । दुवै देशले एकअर्काको भूभागमा शक्तिशाली आक्रमण गरे ।
अन्त्यमा भारतले पाकिस्तानमाथिको आक्रमण बन्द गर्यो‍ । यसको जस लिने ट्रम्पको प्रयासलाई पाकिस्तानले समर्थन गर्‍यो ।
इजरायल–इरान युद्ध
इजरायलले वर्षौंदेखि इरानको आणविक कार्यक्रममा आक्रमण गर्ने धम्की दिइरहेको थियो । यसै वर्ष जुन महिनामा उसले यो धम्कीलाई व्यवहारमा उतार्‍यो ।
इजरायलले आक्रमण गरेको छोटो समयमै ट्रम्पले पनि अमेरिकी बम वर्षक विमानहरुलाई आणविक स्थलमा आक्रमण गर्न आदेश दिए । झन्डै १२ दिनसम्म इरान र अमेरिकाबीच हवाई युद्ध चल्यो ।
गाजा शान्ति योजना
अक्टोबर १० मा गाजा शान्ति योजनाको प्रारम्भिक चरण कार्यान्वयनमा आएको छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणपछि सुरु भएको द्वन्द्वलाई रोक्ने दिशामा यो महत्वपूर्ण कदम मानिन्छ ।
इजरायल–हमास युद्धले गाजामा अनुमानित ७०,००० को मृत्यु भइसकेको छ । इजरायलको निरन्तरको आक्रमणले गाजामा मानवीय अवस्था निकै खराब छ ।
ट्रम्प–सी बैठक
चीनसँगको व्यापार युद्धले ट्रम्पको पहिलो कार्यकाल पारिभाषित गरेको थियो । गत जनवरीमा उनी अमेरिकाको राष्ट्रपतिमा फर्किएलगत्तै फेरि चिनियाँ सामाग्रीमाथि भन्सार शुल्क बढाए ।
जवाफमा, चीनले पनि दुर्लभ पृथ्वी खनिजको निर्यातमा कडाई गरिदियो । जसले अमेरिकी र युरोपेली बजारमा उत्पादन संयन्त्रलाई नराम्ररी प्रभावित गर्नसक्ने खतरा थियो । यसले अमेरिकालाई चीनसँगको संवादहिनता तोडनुपर्ने परिस्थितीमा पुर्या‍इदियो । अक्टुबरमा सी र ट्रम्पबीच दक्षिण कोरियाको बुसानमा छलफल भएको थियो ।
कम्बोडिया–थाइल्याण्ड युद्ध
थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवादले यस वर्ष दुईपटक युद्धको रुप लियो । डाङग्रेक पर्वत शृंखलाको प्राचीन शिव मन्दिर ‘प्रेह विहार’ कम्बोडियामा पर्ने भएपनि यस आसपासको क्षेत्रलाई थाइल्यान्डले आफ्नो दाबी गर्दै आएको छ ।
कम्बोडियाले सन् २००८ मा विश्व सम्पदा सुिचीकृत यस मन्दिरलाई दर्ज गरेपछि नै थाइल्यान्ड असन्तुष्ट थियो । सन् २०१३ मा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसिजे) ले मन्दिर आसपासको विवादित क्षेत्र समेत कम्बोडियाकै स्वामित्वमा रहेको फैसला सुनाइसकेको छ । तर, थाइल्यान्डले आसपासको क्षेत्रमा आफ्नो दाबी छाडेको छैन ।
कृत्रिम बुद्धिमत्ताको दौड
संयुक्त राज्य अमेरिका र चीन अहिले एआई क्षेत्रमा अग्रपंक्तिमा छन् । अन्य देशहरु उनीहरुलाई पछ्याइरहेका छ्न । यस वर्ष जनवरीमा चिनियाँ कम्पनी ‘डिपसिक’ले अमेरिकी शीर्ष मोडलसँग प्रतिस्पर्धा गर्नसक्ने एआई मोडेल सार्वजनिक गर्‍यो ।
अमेरिकी कम्पनीहरूले यसलाई ‘खतरा संकेत’ मानेर आफ्ना लगानी अझै तीव्र बनाउने निर्णय गरे । बाइडेन प्रशासनले चीनतर्फ हुने अत्याधुनिक सेमिकन्डक्टर र चिप निर्यातमा लगाएको प्रतिबन्धलाई ट्रम्प प्रशासनले सुरुमा अझै कडाइ गरेको थियो । जसकारण, चीनलाई नयाँ प्रविधि निर्माणमा अफ्टेरो थियो ।
तर, रेयर अर्थमाथि चीनको कडाईले अमेरिकालाई सेमिकन्डक्टर र चिपसहित औद्योगिक उत्पादनमै समस्या पारिदियो । अन्ततः ट्रम्पले पुरानो नीति उल्ट्याउँदै डिसेम्बरमा मध्यमा एनभिडियालाई शक्तिशाली एच २०० चिप चीनमा बेच्न अनुमति दिए । यसले राष्ट्रिय सुरक्षा खतरामा पार्ने भन्दै ठूला आलोचना पनि उब्जाएको छ ।
विद्रोहमा जेनजी पुस्ता
१९९७ देखि २०१२ को अवधिमा जन्मिएको जेनजी पुस्ताको अगुवाईमा यस वर्ष विश्वभर आन्दोलन तथा विरोध प्रदर्शन भए । यो पुस्ता इन्टरनेटको तिव्र विकास तथा वैश्विक जलवायु संकटलाई नजिकबाट नियालेर हुर्किएको पुस्ता हो ।
वर्ष २०२४ मा बंगलादेशमा भएको क्रान्तिमा पनि यो पुस्ता अग्रमोर्चामा थियो । त्यहाँ शेख हसिना अपदस्थ हुँदा बाँकी देशका तानाशाहहरुको सातो गइसकेको थियो ।
२०२५ मा एशिया, अफ्रिका, अमेरिका र युरोप समेतगरी झन्डै २५ वटा देशमा यस पुस्ताका युवाले सडक तताए । भ्रस्टाचारमुक्त समाज, सुशासन, नातावाद अन्त्यलगायतका माग यी पुस्ताले विश्व्यापी रुपमा उठाएका थिए । नेपाल, मादागास्कर, मंगोलिया, पेरु, बुल्गेरिया र टिमोरलेस्टेमा यसले सरकार नै ढालिदियो ।
रोचक कुरा, विश्वभरका युवाले आन्दोलनका क्रममा एउटै झन्डा प्रयोगमा ल्याएका थिए । प्रसिद्ध जापानी एनिमी वान पिसमा प्रयोग गरिएको ‘पाइरेट झन्डा’ युवाहरुको आक्रोश अभिव्यक्त गर्ने साझा संकेत बन्यो । अन्याय, तानाशाही प्रवृत्ति र भ्रस्टाचारको विरोध तथा स्वतन्त्रता, सपना र दमनकारी व्यवस्थाको अवज्ञालाई यसले प्रतिनिधित्व गरेको थियो ।
चुनावको वर्ष
वर्ष २०२५ चुनावको वर्षका रुपमा पनि संझनामा रहनेछ । यस वर्ष ७२ वटा देशमा आम निर्वाचन तालिका तय थियो । यी सबै देशका मतदाताको संख्या जोड्दा ३ अर्ब ७० करोड हाराहारी हुन आउँछ । जसले वर्ष २०२५ लाई मानव इतिहासकै सबैभन्दा ठूलो चुनावी वर्ष बनायो ।

प्रतिक्रिया