अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति कसरी चुनिन्छन् ?

काठमाडौं । लोकतान्त्रिक प्रणालीको उदाहरण दिनुपर्यो भने जो कोहीले पछिल्लो समय अमेरिकाको नाम लिन्छ । र, अमेरिकाले पनि आफूलाई विश्वकै लोकतान्त्रिक मुलुकका रुपमा चिनाउछ ।

यसरी, प्रत्यक्ष कार्यकारी अभ्यास अपनाएको यस मुलुक अमेरिकामा यही नोभेम्बर ५ मा सो पदका लागि निर्वाचन हुँदैछ । जसमा रिपब्लिकनको तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्र्याटबाट निवर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन् ।
प्रस्तुत छ, लोकतान्त्रिक अभ्यासका रुपमा विश्वमै अग्रणी स्थानमा रहेको अमेरिकामा कसरी राष्टपति चयन हुन्छन् भन्ने जिज्ञासालाई मेटाउन बिबिसीका अधारमा तयार पारिएको सामग्री :

अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्छ। त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ, अनि त्यसकै आधारमा परिणामको छिनोफानो हुन्छ।

तसर्थ धेरै सर्वसाधारण मतदाताको समर्थन पाउने उम्मेदवार पनि निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ।

यो निर्वाचनमा अधिकांश अमेरिकीहरूले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई भोट हाल्ने छन्।

मतदाताले दिएको मत सीधै उनीहरूलाई जाँदैन। अर्थात् उम्मेवारहरूबीच राष्ट्रव्यापी प्रत्यक्ष प्रतिस्पर्धा हुँदैन, प्रत्येक राज्यमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुन्छ।

जनताले दिएको मत उनीहरूलाई प्रतिनिधित्व गर्ने इलेक्टोरल कलेज अर्थात् निर्वाचक मण्डलमा रहने व्यक्तिहरूलाई जान्छ। यो समूहमा रहेका व्यक्तिलाई इलेक्टरु अर्थात् निर्वाचक भनिन्छ। उनीहरूको काम राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु हो।

कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो। अमेरिकामा ५० राज्य छन्। ती राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ।

कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्। निजसँगै उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको व्यक्ति स्वतः निर्वाचित हुन्छन्।

कलेज शब्दले राज्यका तर्फबाट मत दिने निर्वाचकहरूको समूहलाई बुझाउँछ। अमेरिकामा ती व्यक्तिलाई इलेक्टरू भनिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार