बुढेसकालमा कपाल फुल्नु सामान्य हो । तर, कतिपयको कपाल कम उमेरमै फुल्छ । कपाल फुल्नुलाई बुढ्यौलीको संकेतका रुपमा पनि लिइन्छ । हाम्रो समाजमा बुढ्यौलीको ट्यागबाट बच्न विभिन्न किसिमका मेहन्दीको प्रयोग गर्ने चलन छ ।
तर, कपाल फुल्नु बुढ्यौलीको संकेत होइन । कपाल फुल्नुका पछाडि विभिन्न कारण छन् । जुन हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । त्यसैले पनि मेहन्दीको प्रयोग बढेको हो ।
यस्तो किन हुन्छ ? उमेरै नपुगी कपाल फुल्नुका कारणहरू केके छन् ? कम उमेरमै कपाल फुल्नबाट बच्न केके गर्नुपर्छ ? र, कपालमा मेहन्दी लगाउँदा के हुन्छ ?
कपाल फुल्नुका सहायक कारण
एक अध्ययनका अनुसार ३० वर्षभन्दा अघि कपाल फुल्नु अस्वाभाविक मानिन्छ । तर, ३० वर्षभन्दा पछि कपाल फुल्नु स्वाभाविक हो ।
मेलानोसाइटिस तत्वका कारण कपाल कालो हुन्छ । हाम्रो शरीरमा यो तत्वको कमीका कारण कपाल फुल्छ । जबजब उमेर ढल्किँदै जान्छ मेलानोसाइटिसको उत्पादन घट्दै जान्छ । अनि कालो कपाल सेतोमा परिणत हुन्छ ।
तर, कहिलेकाहीँ उमेरै नपुगी शरीरमा मेलानोसाइटिस कम हुन्छ । जसकारण कम उमेरमै कपाल फुल्छ ।
त्यस्तै, दीर्घरोगी, धूम्रपान र मद्यपान गर्ने व्यक्ति, अत्यधिक जंकफुड खानेहरूको पनि उमेरै नपुगी कपाल फुल्ने गरेको पाइन्छ ।
त्यस्तै, औषधिको सेवन गर्ने, कपालमा जथाभावी रसायनिक पदार्थ वा हेयर प्रडक्टको प्रयोग गर्नेहरुको पनि कम उमेरमै कपाल फुलेको पाइन्छ ।
कपाल हर्मोनमा परिवर्तन, मानसिक तनाव तथा डिप्रेसन र वंशानुगत कारणले पनि उमेरमै कपाल फुल्छ ।
त्यसैगरी, मुटु, फोक्सो, मिर्गौला, पेटको समस्याजस्ता र मोटोपन भएका मानिसहरूको कपाल चाँडो फुल्न सक्ने बताइन्छ ।
कपाल फुल्ने मुख्य कारण
१. शाणुगत
उमेर नै नपुगी कपाल फुल्नुको कारणमध्ये वंशानुगत कारण एक हो । आमाबुवा वा परिवारका सदस्यको सानै उमेरमा कपाल फुल्ने समस्या भएमा छोराछोरीको पनि चाँडै कपाल फुल्न सक्छ ।
२. तनाव
तनाव विशेषगरी हाम्रो मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ । तर, यसले मानसिक स्वास्थ्यलाई मात्र नभएर हाम्रो कपाललाई पनि असर गरिरहेको हुन्छ । तनाव लिनेहरूको कपाल अरुको तुलनामा छिट्टै फुल्छ ।
३. भिटामिन बी १२ को कमी
कम उमेरमा सेतो कपाल हुनुका पछाडि भिटामिन ब १२ को कमी पनि हो । यस भिटामिनले हाम्रो शरीरमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले शरीरलाई उर्जा दिनुको साथै कपालको वृद्धि र त्यसको रंगमा समेत योगदान गरेको हुन्छ । यसको अभावले कपालका कोषलाई कमजोर बनाउँछ ।
४. धुम्रपान
सेतो कपाल र धुम्रपान एकअर्काबीच अन्र्तसम्बन्धित छन् । धुम्रपानले फोक्सोको क्यान्सर, हृदयसम्बधी रोगमात्रै निम्त्याउँदैन । यसले कपाललाई पनि असर गरिरहेको हुन्छ । धूम्रपान, गुट्खा र मदिरा सेवनले कपाल चाँडो फुलाउँछ ।
कपालको विकासका लागि तरल पदार्थको सेवन
कपालको विकासका लागि शरीरमा अत्यधिक तरल पदार्थको आवश्यकता हुन्छ । के पिइन्छ र कति पिउने गरिएको छ भन्ने कुराले कपालमा असर पर्छ । कफी, चिया, रक्सी अधिक पिउँदा कपालको विकास रोकिन सक्छ र कम उमेरमा नै कपाल फुल्न सक्छ ।
समाधान के ?
१. कपाल रंग्याउने विभिन्न रसायनयुक्त प्रसाधन प्रयोग नगर्ने
२. सन्तुलित खानपानमा ध्यान दिने
३. शरीरमा भिटामिनडी को कमी हुन नदिने
४. कपाललाई प्रदुषणबाट बचाउने
५. गुणस्तरीय स्याम्पू तथा साबुनको प्रयोग गर्ने







प्रतिक्रिया