इन्टरनेट सेवा प्रदायकले साढे २ अर्ब राजस्व छलेको खुलासा

काठमाडौं । इन्टरनेट सेवा प्रदायकबाट साढे २ अर्ब राजश्व छलेको खुलासा, वर्ल्ड लिंकबाटै १ अर्ब २५ करोड ठगी गरेको खुलासा भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिका अनुसार १० आर्थिक वर्षको विवरणमा २ अर्ब रुपैयाँको राजस्व छली भएको खुलासा भएको हो ।

साढे २ अर्ब राजस्व छली भएकोमा त्यसको आधा हिस्सा भने एउटै वर्ल्ड लिंक कम्युनिकेशनको छ । इन्टरनेट तथा टेलिभिजन च्यानल प्रसारणमा समेत लगभग एकलौटी बजार कब्जा गरेको वर्ल्ड लिंकले १ अर्ब २५ करोड ३४ लाख २९ हजार ९९० रुपैयाँ राजस्व छली गरेको पाइएको छ ।

यो रकम प्रत्येक आर्थिक वर्षको आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार कोषमा गर्नुपर्ने दायित्व हो । वर्ल्ड लिंकले आर्थिक वर्ष २०६९/७० देखि २०७८र७९ को मात्रै करिब सवा अर्ब रुपैयाँ राजस्व छली गरेको मन्त्रालयको छानबिनबाट फेला परेको छ ।

आर्थिक वर्ष २०७९र८० को यसमा उल्लेख छैन । त्यस्तै, अन्य ८ वटा इन्टरनेट सेवा प्रदायकले पनि आम्दानीको ४ प्रतिशत र ग्रामीण दुरसन्चार कोषको २ प्रतिशत रकममा राजस्व छली गर्दा राज्यलाई सवा अर्ब थप क्षति भएको छ ।

इन्टरनेट सेवा प्रदायकमध्ये केहीले राजश्व चुहावट तथा सरकारी हानी नोक्सानी गरेको भन्दै छानबिनका लागि मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले सो उजुरीमाथि छानबिन गर्न समिति गठन गरेको र सो समितिले विस्तृत प्राविधिक र आर्थिक पक्ष अध्ययन गरेर प्रतिवेदन बुझाएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार इन्टरनेट सेवा प्रदायकहरुले कम आय देखाएर रोयल्टी बुझाउनुमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वको कमजोरी छ । कतिपय अवस्थामा प्राधिकरणको नेतृत्वले मिलेमतो गरेको समेत पाइएको छानबिन समितिका एक सदस्यले बताए ।

छानबिन समितिको प्रतिवेदन बमोजिम मन्त्रालयले ९ वटा इन्टरनेट सेवा प्रादयकसँग १० आर्थिक वर्षको रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोष रकम यकिन गरी असुल उपर गर्न प्राधिकरणलाई पत्राचार समेत गरेको छ ।

मन्त्रालयले असोज ९ गते प्राधिकरणलाई पत्राचार गरेकोमा प्राधिकरणले सेवा प्रदायकहरुलाई असोज १५ गते पत्र पठाई मन्त्रालयको निर्देशन बमोजिम ७ दिनभित्र दुवै रकम दाखिला गर्न भनेको छ । एक साताभित्र उक्त रकम दाखिला नभए प्राधिकरणबाट हुने सबै प्रकारका सिफारिस तथा सहजिकरणको कार्य नगरिने समेत भनिएको छ ।

कुन इन्टरनेट सेवा प्रदायकबाट कति राजस्व छली ?

वर्ल्ड लिंक- १ अर्ब २५ करोड ३४ लाख २९ हजार

सुविसु- २६ करोड ९७ लाख ९६ हजार

भायानेट- २६ करोड ७६ लाख, ४७ हजार

क्लासिकटेक- २३ करोड ७१ लख, १७ हजार

मर्कन्टाइल- ९ करोड १६ लाख ५७ हजार

वेभसर्फर- ७ करोड ३३ लाख४९ हजार

पोखरा इन्टरनेट- ३ करोड ३३ लाख १० हजार

नेट म्याक्स- १ करोड ९ लाख ४४ हजार

टेकमाइण्ड्ज- २३ लाख ६४ हजार

प्रतिक्रिया

सम्बन्धित समाचार