काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोक्ने भएको छ। उनीहरूविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल शपथ नगराउने तयारी गरिएको हो।
कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदै छ।
शपथ रोक्न लागिएका केन्द्रीय सदस्यमा सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादव रहेका छन्। खड्का केन्द्रीय सदस्यमा विजयी भए पनि निर्वाचन समितिले हालसम्म उनको निर्वाचित भएको औपचारिक घोषणा गरेको छैन।
कांग्रेसका एक पदाधिकारीका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेकाले चारै जनाको शपथ तत्कालका लागि रोक्ने तयारी गरिएको हो। अदालतबाट सफाइ पाएपछि उनीहरूले जिम्मेवारी पाउने उनले बताए।
यसैबीच, केन्द्रीय सदस्यका उम्मेदवार सौगात थापाले ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित सुशील भट्टको शपथ पनि रोक्न माग गरेका छन्। भट्ट ३६ वर्ष पुगेको दाबी गर्दै थापाले बुधबार निर्वाचन आयोगमा उजुरी दिएका हुन्।



प्रतिक्रिया