काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आवको असोज मसान्तसम्म १ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा १३१.१३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ४५ करोड ४२ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ९.४२ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन २.०८ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब १० करोड ९९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले २ खर्ब ४८ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकको कर्जा प्रवाह १.७८ प्रतिशतले बढेर १ खर्ब ९९ अर्ब ३६ करोड ७० लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
गत आवमा ७.६८ प्रतिशत रहेको बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) बढेर १५.६० प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा बढेर २७.५८ रुपैयाँ पुगेको छ । गत आवमा बैंकको यस्तो नाफा १९.२७ रुपैयाँ रहेको थियो । बैंकको खुद कर्जा तथा सापटी प्रवाह १.६९ प्रतिशतले वृद्धि भई २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गत आवमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात चालु आवर्षमा घटेर २.८६ प्रतिशतमा सीमित भएको छ ।
बैंकको बेस रेट ५.५९ प्रतिशतबाट घटेर ४.६० प्रतिशतमा र कस्ट अफ फण्ड ४.३२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा सीमित भएको छ। बैंकको स्प्रेड दर पनि गत वर्षको ३.६५ प्रतिशतको तुलनामा घटेर ३.१७ प्रतिशत कायम भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात ७९.२३ प्रतिशत रहेको छ । १५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २९.१७ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको ईपीएस १३.१५ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १८५.५४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.४७ गुणा रहेको छ ।




प्रतिक्रिया