‘बागमती र विष्णुमतिलाई नुहाउन मिल्ने बनाउनुपर्छ’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंलाई सुन्दर र समृद्ध बनाउन नदी नालामा गएर नुहाउन सक्ने गरी सफा बनाउनुपर्ने बताएका छन् ।

आउँदो विजया दशमी, दीपावली, छठ, नेपाल संवत्लगायत चाडबाडका अवसरमा काठमाडौं महानगर १७, खुसिबुस्थित बाल उद्यान सामुदायिक सेवा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमन्त्री घिसिङले नदी सफा नभएसम्म सहर सफा नहुने बताएका हुन् ।

‘जबसम्म बागमती, वष्णुमती र धोवीखोलालाई आनन्दले नुहाउन सक्ने बनाइँदैन, तबसम्म काठमाडौं सुन्दर हुँदैन। त्यो काम अगाडि बढाउनुपर्छ। सरकारले यसलाई अगाडि बढाओस्,’ अध्यक्ष घिसिङले भने, ‘काठमाडौं मात्र होइन मुलुकलाई नै समृद्ध र हरियाली बनाउनुपर्छ। हामी पनि यसमा लागेका छौँ। अहिलेको सरकारले नसके अबको निर्वाचनमा जनताले हामीलाई रोज्नेछन्।’

विगतमा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक रहँदा ‘लोडसेडिङ’ अन्त्य गराएर उज्यालो नेपाल बनाएको बताउँदै उहाँले अब मुलुकको सबै क्षेत्रलाई उज्यालो बनाउनुपर्नेमा जोड दिए ।

उहाँले विगतमा महानगरको प्रमुख हुँदा थालेका नदी सफाइका कामलाई मुलुककै कार्यकारी प्रमुख हुँदा प्रधानमन्त्री बालेन्द्र शाहले अझ राम्रो काम गर्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले मुलुकको राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षा गर्दै समृद्धिका लागि सबै लाग्नुपर्नेमा जोड दिए । सेवा समितिक अध्यक्ष रामकुमार श्रेष्ठले स्थानीय विकास र सामाजिक कार्यमा हातोमालो गरेर अघि बढ्न आह्वान गरे ।

प्रतिक्रिया