वर्षाका कारण कांग्रेसको महाधिवेशन प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन वर्षाका कारण प्रभावित भएको छ । पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारमाथि दाबी–विरोध प्रक्रिया चलिरहेका बेला वर्षा भएपछि निर्वाचनस्थल र बन्दसत्रस्थलमा रहेका प्रतिनिधि तथा समर्थकहरू तितरबितर भएका छन् ।

निर्वाचन समितिले बुधबार बिहान प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेपछि केही समयअघि मात्रै दाबी–विरोध सुरु भएको थियो । वर्षाका कारण बन्दसत्रसमेत सुरु हुन सकेको छैन ।

आज बन्दसत्रबाट प्रतिवेदन पारित गर्ने, निर्वाचन प्रक्रिया अघि बढाउने तथा बिहीबार हुने मतदानको तयारी गर्ने कार्यतालिका छ ।

महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति १ सहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने भएकाले १९ पदाधिकारी निर्वाचित हुनेछन् ।

निर्वाचन समितिका अनुसार १९ पदका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापतिमा वर्तमान सभापति गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपसभापतिमा वर्तमान उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसभापतिमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुवै हाल उपसभापति पदमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार