चट्याङसहित वर्षाको सम्भावना, कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौं । आज देशका पाँच प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको हुने सम्भावना छ । केही स्थानमा भारी वर्षा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्ने छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि यस्तै मौसमी गतिविधिसहित मध्यम वर्षा हुन सक्ने छ ।

राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने छ । तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने र बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने सम्भावना छ ।

राति हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । तराईका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार