काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भएको सम्बोधनलाई ऐतिहासिक भएको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभालाई महासभामा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउँदै मन्त्री खनालले प्रधानमन्त्री शाहको सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका महत्वपूर्ण विषय उठाइएको बताए।
उनका अनुसार प्रधानमन्त्री शाहले ‘लस एन्ड ड्यामेज फन्ड’लगायत जलवायु वित्तका संयन्त्रमार्फत स्रोत परिचालनलाई सरल र सहज बनाउन तथा जलवायु न्यायलाई व्यवहारमा कार्यान्वयन गर्न गरेको आह्वानले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ।
खनालले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकका लागि जलवायु न्यायलाई व्यवहारमा उतार्ने दिशामा प्रधानमन्त्रीको सम्बोधन महत्वपूर्ण कदम बन्ने अपेक्षा गरिएको बताए।
प्रधानमन्त्री शाहले असोज ८ गते न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गरेका थिए। महासभामा सहभागी हुन उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए भने असोज १० गते स्वदेश फर्किएका थिए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै त्यसबाट भएको जनधनको क्षति, भौतिक पूर्वाधारको विनाश तथा जनजीविकामा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।
उनले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असरबारे पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए। हिमनदी र पर्माफ्रस्ट पग्लिँदै जाँदा हिमपहिरो, बाढी र पहिरोजस्ता विपद्को जोखिम बढिरहेको विषयसमेत उनले उठाएका थिए।


प्रतिक्रिया