निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न ९ सदस्यीय उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न नौ सदस्यीय उपसमिति गठन गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

उपसमितिका सदस्यमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।

उपसमितिलाई निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितता भएको भन्दै समितिमा परेको उजुरीमाथि अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। समितिका सभापति भरतबहादुर खड्काले उजुरीमाथि अध्ययन गर्ने क्रममा आएका सुझावलाई समेत समेटेर समिति अघि बढ्ने बताए।

बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे आफूले निरन्तर आवाज उठाउँदै आएकाले उपसमितिको संयोजक बनाउनुपर्ने प्रस्ताव गरेका थिए। आफूलाई बाहिर राखेर उपसमिति गठन गर्नु उचित नहुने उनको भनाइ थियो।

तर, केही सांसदहरूले सुनारको भूमिका उजुरीकर्ताको जस्तो देखिएकाले उनलाई उपसमितिमा राख्न नहुने धारणा राखेका थिए। छलफलपछि भने सहमतिमै सुनारलाई उपसमिति सदस्यमा राखिएको हो।

सार्वजनिक लेखा समितिमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गर्दा ६० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको दाबी गर्दै उजुरी परेको छ। सोही उजुरीमाथि अध्ययन गर्न समितिले उपसमिति गठन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार