काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय दायित्व बहन क्षमता तथा समग्र साख मूल्याङ्कनलाई इक्रा नेपालले पुनः ‘ट्रिपल बी प्लस’ श्रेणीमा कायम गरेको छ । यस रेटिङले कम्पनीमा समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता बलियो रहेको र वित्तीय जोखिम तुलनात्मक रूपमा न्यून रहेको संकेत गर्छ । इक्रा नेपालका अनुसार कम्पनीको व्यवसाय विस्तार, बजार हिस्सा, बीमा नवीकरण दर, लगानीको गुणस्तर, पुनर्बिमा व्यवस्था, चुक्ता क्षमता तथा देशव्यापी उपस्थितिले रेटिङलाई सकारात्मक आधार दिएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको कुल बीमाशुल्क आम्दानी करिब २४ प्रतिशतले बढेको छ। जीवन बीमा क्षेत्रमा कुल बीमाशुल्क आम्दानीतर्फ कम्पनीको बजार हिस्सा करिब ४.६ प्रतिशत र पहिलो वर्षको बीमाशुल्कतर्फ करिब ६.२ प्रतिशत रहेको छ । कम्पनीको कुल बीमाशुल्क आम्दानीमा दीर्घकालीन प्रकृतिका बीमा योजनाको हिस्सा करिब ९१ प्रतिशत रहेको छ ।
कम्पनीको बीमा नवीकरण दर पनि सन्तोषजनक देखिएको छ । आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ दुवैमा बीमाशुल्कका आधारमा नवीकरण दर करिब ८८ प्रतिशत कायम रहेको छ । यसले विद्यमान बीमितलाई निरन्तर कायम राख्ने कम्पनीको क्षमता राम्रो रहेको देखाउँछ ।
लगानीतर्फ आर्थिक वर्ष २०२५/२६ को मध्य जुलाई २०२६ सम्म बीमालेख धितोमा दिइने कर्जाबाहेक कम्पनीको कुल लगानी करिब ३१ अर्ब रुपैयाँ रहेको छ। यसको करिब ७७ प्रतिशत हिस्सा वाणिज्य बैंकहरूमा राखिएको मुद्दती निक्षेप तथा तिनै बैंकका ऋणपत्रमा केन्द्रित रहेको छ। यसले कम्पनीको लगानी संरचनामा तुलनात्मक स्थिरता र सुरक्षा कायम गर्न सहयोग पुगेको इक्रा नेपालको मूल्याङ्कन छ ।
कम्पनीको पुनर्बिमा व्यवस्था पनि सन्तोषजनक रहेको जनाइएको छ। ठूला विपद्का घटनाबाट उत्पन्न हुन सक्ने दाबी दायित्व व्यवस्थापनका लागि गरिएको पुनर्बिमा व्यवस्थाले असामान्य अवस्थामा समेत दाबी भुक्तानी क्षमता कायम राख्न सहयोग गर्ने मूल्याङ्कन गरिएको छ ।
त्यस्तै, मध्य जुलाई २०२५ सम्म कम्पनीको जोखिममा आधारित पुँजी तथा चुक्ता क्षमताको अनुपात १.७३ गुणा रहेको थियो। यो नियामकीय रूपमा तोकिएको न्यूनतम १.३० गुणाभन्दा माथि हो । यद्यपि अघिल्लो वर्षको ३.४२ गुणाबाट उक्त अनुपात घटेको छ, तर नियामकीय सीमाभन्दा माथि रहेकाले कम्पनीको चुक्ता क्षमता सहज अवस्थामा रहेको इक्रा नेपालले जनाएको छ। देशभरको विविधीकृत उपस्थिति र बलियो अभिकर्ता सञ्जाल पनि कम्पनीको व्यवसाय विस्तारका लागि सकारात्मक पक्षका रूपमा देखिएका छन् ।
सन् २०१७ को अक्टोबरदेखि सञ्चालनमा रहेको सिटिजन लाइफका प्रमुख प्रवद्र्धकहरूमा प्रदीपजङ्ग पाण्डे, कान्तिपुर पब्लिकेसन्स प्राइभेट लिमिटेड र सुमितकुमार अग्रवाल रहेका छन् । जुलाई २०२६ को मध्यसम्म कम्पनीमा प्रवर्द्धक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात ७०ः३० रहेको थियो । सोही अवधिसम्म कम्पनीले देशभर करिब १३६ वटा सेवा तथा व्यवसायिक केन्द्र सञ्चालन गरेको थियो । कम्पनीसँग करिब ४० हजार २०० व्यक्तिगत अभिकर्ता र ५१ संस्थागत अभिकर्ता रहेको जनाइएको छ ।





प्रतिक्रिया