गर्मीका कारण युरोपको अर्थतन्त्र ११३ अर्ब युरो क्षति

काठमाडौं । युरोपमा यस वर्षको अत्यधिक गर्मीले अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएको छ । जर्मन बिमा कम्पनी ‘आलियान्ज’का अनुसार गर्मीका कारण युरोपले करिब ११३ अर्ब युरो बराबरको आर्थिक क्षति व्यहोरेको छ ।

यो क्षति सन् २०२६ मा युरोपको अनुमानित कुल आर्थिक उत्पादनको करिब ०.५ प्रतिशत बराबर रहेको आलियान्जको प्रक्षेपण छ ।

आलियान्जका अनुसार अत्यधिक गर्मीबाट सबैभन्दा बढी प्रभावित इटालीमा करिब २८ अर्ब युरो बराबरको आर्थिक क्षति भएको छ । त्यस्तै, जर्मनीमा २५ अर्ब र फ्रान्समा २० अर्ब युरो बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गर्मीका कारण कर्मचारीको उत्पादकत्व घट्नु, काममा अनुपस्थित हुने क्रम बढ्नु तथा लामो विश्राम लिनुपर्ने अवस्थाले उत्पादन र आर्थिक गतिविधिमा असर परेको कम्पनीले जनाएको छ ।

गर्मी तथा अन्य जलवायुजन्य जोखिमको आर्थिक प्रभाव आकलन गर्न आलियान्जले नयाँ ‘क्लाइमेट रिस्क ट्र्याकर’ समेत विकास गरेको छ । यसले मौसमी क्षतिसम्बन्धी तथ्यांकलाई आर्थिक प्रभावको मोडलसँग जोडेर जलवायुजन्य जोखिमबाट हुने आर्थिक क्षतिको मूल्यांकन गर्छ ।

प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा जर्मनीमा आँधी, बाढी तथा अन्य प्राकृतिक विपद्बाट करिब ५० अर्ब युरो बराबरको क्षति भएको छ । सन् २००० देखि २०१९ सम्मको औसतसँग तुलना गर्दा पछिल्ला वर्षहरूमा जर्मनीमा प्राकृतिक विपद्बाट हुने वार्षिक आर्थिक क्षति करिब दोब्बर भएको आलियान्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार