काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । पार्टीको स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको छ । बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ ।
त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार रसुवाको अधिवेशनका लागि छुट्टै मिति तय गरिनेछ ।
नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन् । जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहनेछन् ।
यस्तै, कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया