काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण तथा समन्वय गर्ने नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ ।
बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको भन्दै नाडाले प्रभावित व्यवसायी तथा सदस्यहरूको समस्यामा सहजीकरण गर्ने जनाएको हो ।
नाडाका अनुसार बाढीका कारण भन्सार नाकालगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, कतिपय सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको जानकारी प्राप्त भएको छ ।
प्रभावित व्यवसायीलाई सहयोग पुर्याउन नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सरोकारवाला निकायसँग समन्वय सुरु गरिसकेको जनाएको छ ।
नाडाले प्रभावित सदस्य कम्पनीहरूलाई बाढी तथा डुबानबाट भएको क्षतिको यथार्थ तथा प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ । विवरणमा क्षति भएका तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षति, बीमा गरिएको सम्पत्ति, बीमा दाबीका लागि आवश्यक कागजात तथा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसम्बन्धी विवरण समावेश गर्न आग्रह गरिएको छ ।
प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहजीकरण गर्ने नाडाले जनाएको छ । विशेषगरी बीमा दाबी प्रक्रिया छिटो र सहज बनाउन बीमा कम्पनीसँग समन्वय गर्ने तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग पहल गर्ने नाडाको योजना छ ।
त्यसैगरी प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन तथा अन्य सम्भावित सहजीकरणका लागि पनि सम्बन्धित निकायसँग समन्वय गर्ने नाडाले जनाएको छ ।
नाडाले सरकार तथा अन्य सरोकारवाला निकायसमक्ष अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने बताएको छ । यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने योजना पनि नाडाले अघि सारेको छ ।
नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले कठिन परिस्थितिमा आफ्ना सदस्य व्यवसायीहरूसँग संस्था साथमा रहेको बताएका छन् । उनले प्रभावित सदस्यहरूलाई क्षतिको यथार्थ विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराई आवश्यक समन्वय तथा सहजीकरणमा सहयोग गर्न आग्रह गरेका छन् ।







प्रतिक्रिया