प्रधानमन्त्रीले अमेरिका भ्रमणका क्रममा भीआईपी कक्षमा नबस्ने र सलामी नलिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा यसपटक विमानस्थलमा विगतको भन्दा फरक दृश्य देखिने भएको छ ।

प्रधानमन्त्री शाहले विदेश प्रस्थान गर्दा नेपाली सेनाको सलामी नलिने भएका छन् । यस्तै, मन्त्री, सरकारी पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरू विमानस्थलमा लाइन लागेर बिदाइ गर्न जाने परम्परा पनि यसपटक देखिने छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री विदेश जाँदा र फर्किँदा सरकारी पदाधिकारी तथा कर्मचारीहरू विमानस्थलमा ताँती लागेर स्वागत तथा बिदाइ गर्ने परम्परा अन्त्य गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री शाह मंगलबार बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित काममा व्यस्त छन् । उनी साँझ करिब सवा ६ बजे बालुवाटारस्थित निवासबाट विमानस्थलतर्फ जाने कार्यक्रम छ । प्रधानमन्त्री विमानस्थल पुग्नुअघि नै भ्रमण टोलीका सदस्यहरू त्यहाँ पुगिसक्नेछन् ।

शाहले विमानस्थलमा भीआईपी आवागमनका लागि प्रयोग हुने बाटोबाट सिधै विमानतर्फ जानेछन् । उनी भीआईपी कक्षमा समय नबिताउने र विमानमा चढेलगत्तै जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उनी करिब ७ बजे अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या र त्यसबाट उत्पन्न जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने छन् । उनले जलवायु न्यायको विषयलाई समेत प्राथमिकताका साथ उठाउने बताइएको छ ।

यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा उच्च सरकारी अधिकारीदेखि विभिन्न तहका कर्मचारीसम्म विमानस्थल पुगेर स्वागत तथा बिदाइ गर्ने गरेका थिए । त्यस क्रममा कार्यालयको नियमित काम छाडेर समेत सरकारी पदाधिकारी विमानस्थल जाने गरेको देखिन्थ्यो ।

तर, प्रधानमन्त्री शाहले यस्तो परम्परा अन्त्य गर्न खोजेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिले विपद्को अवस्था रहेकाले स्वागत तथा बिदाइका नाममा विमानस्थलमा अनावश्यक तामझाम र भीडभाड गर्नु उचित नहुने प्रधानमन्त्रीको धारणा छ ।

प्रधानमन्त्री कार्यालय स्रोतले संविधान दिवसका अवसरमा शाहले पुराना शैली र परम्परा परिवर्तन गर्ने बताएका कुरालाई समेत उल्लेख गर्दै भनेको छ, ‘स्वागत र बिदाइमा तामझाम गर्ने स्वभाव प्रधानमन्त्रीज्यूको छैन र अहिलेको विपद्को बेलामा अरूले पनि त्यस्तो गर्नु उचित हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार