काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन् । सोमबार मध्याह्न राहदानी विभागअगाडि रहेको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७६ नम्बरको बसमा अचानक आगो लागेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीका अनुसार उक्त बस मूलपानी–थानकोट रुटमा सञ्चालन हुँदै आएको थियो । आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा बसभित्रै रहेका थिए ।
आगलागीबाट गम्भीर घाइते लामालाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको छ । अस्पतालका निर्देशक निदिना ताम्राकारका अनुसार लामाको शरीरका अधिकांश भाग जलेका कारण अवस्था निकै गम्भीर रहेको छ ।
प्रहरीले चालक लामाले आफैँ बसमा आगो लगाएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया