चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई गरायो केरुङ सीमा क्षेत्रको अवलोकन

काठमाडौं । गत भदौ १० (अगस्ट २६) को नेपाल–चीन सीमा क्षेत्रमा भीषण बाढीपछि चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई स्थलगत भ्रमण गराएको छ ।

बाढीले ध्वस्त पारेको केरुङ/रसुवागढी नाकामा चीन सरकारले  पहिलोपटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई स्थलगत भ्रमण गराएको हो ।

आइतबार चीनको परराष्ट्र मन्त्रालयको समन्वयमा रोयटर्सलगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीका प्रतिनिधिहरूले साँघुरो नदी उपत्यकामा अवस्थित ध्वस्त भन्सार तथा सीमा क्षेत्रको स्थलगत निरीक्षण गरे

चिनियाँ अधिकारीहरूका अनुसार खोज तथा उद्धारका क्रममा आइतबार थप १२ शव फेला परेका छन् । यससँगै चीनतर्फ ४३ जनाको मृत्यु पुष्टि भएको छ । ५१९ जना बेपत्ता छन् । बेपत्ता ५१९ मध्ये २३ देशका २६१ जना रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । यसमा मानसरोवर–कैलाश यात्रामा निस्किएका ४९ जना भारतीय नागरिकसमेत छन् ।

बाढी र लेदोका कारण ग्यिरोङ सीमामा रहेको पाँचतले चिनियाँ भन्सार भवन, २० मिटर अग्लो प्रवेशद्वारसहित सम्पूर्ण भौतिक संरचना ध्वस्त भएका छन् ।

चिनियाँ आपत्कालीन उद्धार टोलीले ग्राउन्ड–पेनेट्रेटिङ रडार, एक्साभेटर तथा अन्य भारी मेसिनरी प्रयोग गरी खोजी जारी राखेको छ । फेला परेका शवको पहिचानका लागि औँठाछाप, ट्याटु तथा अन्य विशिष्ट शारीरिक चिह्नको अभिलेख राख्ने काम भइरहेको छ ।

ग्यिरोङ आपत्कालीन उद्धार मुख्यालयका उपप्रमुख नोर्बु छिरिङले हिमाली क्षेत्रमा पूर्वसूचना तथा अनुगमन क्षमता बढाउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया