सोलुको बेनीले खुलायो आइपिओ

काठमाडौँ। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ६३ हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले यस चरणमा ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको शेयर बिक्रीमा ल्याएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरसमेत बाँडफाँट भइसकेको छ । ती समूहमा शेयर बाँडफाँटपछि बाँकी रहेको शेयर अहिले सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

बेनी हाइड्रोपावरले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

त्यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ४० हजार कित्ता शेयर छुट्याइएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता, कम्पनीका कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता शेयर छुट्याइएको थियो ।

स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँटपछि बाँकी ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको आईपीओमा आजदेखि भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि असोज ५ गतेसम्म कायम रहनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरोसेयर’मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार