जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालले २२ वटा खेलमार्फत १३६ खेलाडी उतार्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलका अनुसार नेपाली टोलीमा ८० पुरुष र ५६ महिला खेलाडी रहेका छन्। प्रतियोगिताका लागि ३२ प्रशिक्षक पनि टोलीसँग रहनेछन्।
नेपालबाट आर्चरीमा एक-एक पुरुष तथा महिला, एथलेटिक्समा चार पुरुष र दुई महिला, ब्याडमिन्टनमा दुई-दुई पुरुष तथा महिला, बक्सिङमा चार पुरुष र तीन महिला तथा क्यानोइ स्लालममा दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी पुरुष क्रिकेट टोलीमा १५ खेलाडी, साइक्लिङमा एक-एक पुरुष तथा महिला र डान्स स्पोर्ट्समा एक पुरुष खेलाडी सहभागी हुनेछन्।
यस्तै, गल्फमा तीन पुरुष र एक महिला, जुडोमा तीन-तीन पुरुष तथा महिला, कबड्डीमा १२–१२ पुरुष तथा महिला, करातेमा तीन पुरुष र पाँच महिला तथा स्केटबोर्डमा दुई पुरुष खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।
यसका अतिरिक्त सफ्ट टेनिसमा तीन पुरुष र एक महिला, स्क्वासमा एक-एक पुरुष तथा महिला, पौडीमा तीन पुरुष र दुई महिला, टेबलटेनिसमा तीन-तीन पुरुष तथा महिला, तेक्वान्दोमा दुई पुरुष, टेनिसमा तीन पुरुष र दुई महिला, महिला भलिबलमा १२ खेलाडी, कुस्तीमा चार पुरुष र दुई महिला तथा उसुमा आठ पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
यसअघि चीनको हाङझावमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले २९ खेलमा २५३ खेलाडी सहभागी गराएको थियो। त्यसबेला १२६ पुरुष र १२७ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
हाङझाव एसियाली खेलकुदमा नेपालले एक रजत र एक कांस्य पदक जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। करातेकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले कांस्य पदक हात पारेको थियो।
२०औँ एसियाली खेलकुद आगामी असोज ३ गतेदेखि जापानको आइची–नागोयामा औपचारिक रूपमा सुरु हुनेछ।



प्रतिक्रिया