काठमाडौं महानगरपालिकाले टेकुस्थित लामो समयदेखि बन्द रहेको फोहोरबाट ऊर्जा उत्पादन परियोजना पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीअनुसार परियोजनालाई आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। परियोजनाको पुनःस्थापनाका लागि आवश्यक बजेट विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रममार्फत व्यवस्थापन गरिनेछ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र एईपीसीका कार्यकारी निर्देशक नवराज ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
एईपीसीका अनुसार परियोजनाको पुनःनिर्माण, सञ्चालन र दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भइरहेको छ। युरोपियन युनियनको करिब १ करोड ८० लाख रुपैयाँ सहयोगमा निर्माण भएको यो परियोजना केही समय सञ्चालनपछि बन्द भएको थियो।
हाल देशका सात नगरपालिकामा फोहोरबाट ऊर्जा उत्पादन परियोजना सञ्चालनमा छन्। काठमाडौंमा पनि परियोजना पुनः सञ्चालन भएपछि कुहिने फोहोरको प्रभावकारी व्यवस्थापन, बायोग्यास उत्पादन तथा जैविक मल निर्माणमार्फत वातावरण संरक्षण र चक्रीय अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया