अमेरिका इरान सम्झौता नबिथोल्न इजरायललाई टर्कीको चेतावनी

काठमाडौं । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अमेरिका र इरानबीचको शान्ति सम्झौतालाई बिथोल्न इजरायललाई अनुमति दिन नहुने बताएका छन्। शनिबार इस्तानबुलमा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति अर्दोआनले सो कुरा बताएका हुन्।

उनले क्षेत्रीय देशहरूको समर्थन र सहयोग बिना मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रयास सफल हुन नसक्ने स्पष्ट पारेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार अर्दोआनले भने, ‘क्षेत्रीय देशहरूको चाहना र योगदानमा आधारित समाधान मात्र दिगो हुन सक्छ। क्षेत्रका देशहरूको समर्थन नपाएको कुनै पनि समाधान लामो समयसम्म टिक्न सक्दैन।’

राष्ट्रपति अर्दोआनले अमेरिका र इरानबीच भएको सम्झौतालाई असफल बनाउने इजरायली सरकारको प्रयासलाई आफूहरूले नजिकबाट नियालिरहेको बताए। वर्तमान इजरायली सरकार लगातार युद्धको बाटोमा हिँडिरहेको आरोप लगाउँदै उनले भने, ‘इजरायललाई हाम्रो क्षेत्रलाई पुनः बारुद र रगतको गन्धमा डुबाउने छुट दिनु हुँदैन।’

प्रतिक्रिया