इरान युद्ध रोक्न अमेरिकी तल्लो सदनद्वरा प्रस्ताव पारित

काठमाडौं । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले एउटा प्रस्ताव पारित गरेको छ ।

गत फेब्रुअरीदेखि जारी युद्धप्रति असन्तुष्टि जनाउँदै चार जना रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूलाई साथ दिएपछि उक्त प्रस्ताव २१५/२०८ मतले पारित भएको हो ।

ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने तल्लो सदनको यो चौथो प्रयास हो । आलोचकहरूका अनुसार इरानविरुद्धको सैन्य अभियानका लागि अमेरिकी संविधानअनुसार आवश्यक पर्ने कंग्रेसको स्पष्ट स्वीकृति लिइएको छैन ।

nabil
तल्लो सदनबाट पारित यो प्रस्तावलाई अझै रिपब्लिकनहरूको बहुमत रहेको माथिल्लो सदन यूएस सिनेटबाट अनुमोदन हुनुपर्छ । सिनेटबाट पारित भए पनि यसले इरानविरुद्धको सैन्य कारबाही पूर्ण रूपमा रोक्न सक्ने सम्भावना भने कम रहेको विश्लेषण गरिएको छ ।

यसबाहेक, राष्ट्रपति ट्रम्पले प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्नेछन् । त्यस्तो अवस्थामा भिटोलाई निष्प्रभावी बनाउन कंग्रेसका दुवै सदनमा दुई–तिहाइ बहुमत आवश्यक पर्नेछ ।

सिनेटले पनि यसअघि सातवटा असफल प्रयासपछि गत मे महिनामा यस्तै प्रकृतिको प्रस्ताव अघि बढाएको थियो । तर, त्यसमा पूर्ण मतदान भने अझै हुन बाँकी छ ।

बुधबारको मतदानमा रिपब्लिकन सांसदहरू थोमस मासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले डेमोक्र्याटहरूको पक्षमा मतदान गरेका थिए । यसअघि यस्ता प्रस्तावहरूको विपक्षमा मतदान गर्दै आएका मेन राज्यका डेमोक्रेट सांसद जेरेड गोल्डेनले पनि यसपटक प्रस्तावको समर्थन गरेका छन् ।

“युद्धको घोषणा गर्ने अधिकार कंग्रेससँग मात्र हुन्छ । यो निश्चित रूपमा हामीले रक्षा गर्नुपर्ने संवैधानिक अधिकार हो,” मिशिगनका रिपब्लिकन सांसद टम ब्यारेटले भने ।

यस मतदानका कारण राष्ट्रपति ट्रम्पबाट हुनसक्ने सम्भावित राजनीतिक प्रतिशोधबारे सोधिएको प्रश्नमा ब्यारेटले भने, “मैले जे सही ठानेँ, त्यहीअनुसार आफ्नो विवेक प्रयोग गरेर मतदान गरेको हुँ । म त्यसको परिणाम स्वीकार गर्न तयार छु ।” बीबीसी

प्रतिक्रिया