काठमाडौं। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले सीमा विवादलगायतका विषयलाई अनिश्चितकालसम्म लम्ब्याउनु उचित नहुने धारणा व्यक्त गरेका छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा मंगलबार प्रकाशित लेखमा लामिछानेले चुनावी फाइदाका लागि उग्र राष्ट्रवादी भावना भड्काउने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन्। उनका अनुसार यस्ता विवादहरू ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा समाधान गर्नुपर्छ।
लेखमा उनले नेपालको मुख्य प्राथमिकता आर्थिक रूपान्तरण भएको उल्लेख गर्दै विगतका कटुता बोकेर अघि नबढ्ने बताएका छन्। नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक विवादबाट माथि उठाएर विकास, व्यापार र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।
लामिछानेले नेपालमा हालै देखिएको राजनीतिक परिवर्तनलाई “मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति”को संज्ञा दिएका छन्। उनले रास्वपाको उदयलाई पुराना राजनीतिक दलप्रति बढेको असन्तुष्टि र अविश्वासको विकल्पका रूपमा व्याख्या गरेका छन्।
नेपाल र भारत केवल दुई छिमेकी राष्ट्र नभई साझा सभ्यता, संस्कृति र ऐतिहासिक सम्बन्धले जोडिएका साझेदार भएको उल्लेख गर्दै उनले जनकपुर–अयोध्या, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगयाबीचको सम्बन्धलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
दुई देशबीचको सहकार्य विस्तार गर्न उनले रक्सौल–काठमाडौं रेलमार्ग निर्माण, पोखरा र लुम्बिनीबाट भारतका प्रमुख शहरहरूमा सिधा हवाई सेवा सञ्चालन, तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा भारतीय संस्थानहरूको सहकार्य बढाउन प्रस्ताव गरेका छन्।
त्यसैगरी काठमाडौं–बेंगलुरु डिजिटल करिडोर, प्रविधि प्रयोगशाला, स्टार्टअप इन्क्युबेसन केन्द्र, फिनटेक र डिजिटल भुक्तानी प्रणालीमा साझेदारी गर्न पनि उनले भारतलाई आग्रह गरेका छन्।
नेपालको जलविद्युत् सम्भावनालाई भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जा स्रोतका रूपमा उपयोग गर्न सकिने उल्लेख गर्दै उनले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन्। सीमाक्षेत्रका प्रशासनिक अवरोध हटाई आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन्।
पर्यटन प्रवर्द्धनका लागि जनकपुर, लुम्बिनी र बोधगयालाई जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्नुपर्ने धारणा समेत लामिछानेले व्यक्त गरेका छन्।


प्रतिक्रिया