घोराही । यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको छ । अहिले मोड र साँघुरो स्थानमा खुला गर्ने काम भइरहे पनि चारलेन सडककै रूपमा विकास भइरहेको हो । चालु आर्थिक वर्षमै सडक विस्तारको काम सक्नेगरी काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिनुभएको छ । यसअघि साँघुरो सडकका कारण धेरै सवारी दुर्घटना हुँदै आएका थिए । अब भने दुर्घटनाको जोखिम बढिरहेको समयमा सडक विस्तारसँगै मोड सुधारले यातायातका साधन सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ ।
लमही–घोराही सडकखण्डका जोखिमपूर्ण मोडहरू कटान गरेर गाडी सञ्चालन हुँदा दुवैतर्फको सडक देखिने सडक विस्तारको काम भइरहेको कार्यालय प्रमुख विष्टले बताए ।
घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्मको करिब १७ किलोमिटर सडकखण्डको साँघुरा स्थानलाई फराकिलो बनाउने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
घोराही–लमही सडक सुधार कार्यक्रमअन्तर्गत विभिन्न मोडहरूमा सुधारदेखि साँघुरो स्थानमा कटिङ र पर्खाल निर्माणको काम भइरहेको छ । सडक सुधारका लागि लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा रु २० करोड १३ लाख ५९ हजारबराबरका तीनवटा ठेक्का सम्झौता गरी साँघुरो सडकलाई खुला बनाउने काम भइरहेको प्रमुख विष्टले जानकारी दिए ।




प्रतिक्रिया