पितापुत्रको कविताकृति वंशवृक्षमाथि छलफल

पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल र उनका छोरा अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’माथि छलफल भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा समीक्षक ज्ञानु अधिकारीले कृतिमाथि चर्चा गर्दै कुनै पनि विषयलाई मिठासपूर्ण तरिकाबाट भन्न सक्ने विधा नै कविता भएको उल्लेख गरिन् । उनले अनिमेषका कवितामा सरल शब्द भए पनि भावगाम्भीर्यता असीमित भएको बताइन् ।

कविताकृतिभित्र पुरुषोत्तम दाहालका १७ र अनिमेषका १३ कविता छन् ।

समीक्षक युवराज मैनालीले अनिमेष सम्भावना बोकेका कवि भएको उल्लेख गर्दै कवितामा पुरुषोत्तम पिता नै हुन् र अनिमेष पुत्र नै हुन भन्ने तर्क गरे । उनले दुवैका कविताले समाजका युगीन चेतना बोकेको बताए ।

समीक्षक कवि घनेन्द्र ओझाले अनिमेषका कविताहरू सशक्त रहेको बताउँदै यहाँ खुकुरीभन्दा कर्द लागेको तर्क गरे । उनले कविताभित्र रहेका केही कमी कमजोरीको चर्चा पनि गरे ।

कवि पुरुषोत्तम दाहालले कृतिभित्र र बाहिरबाट केही कविता वाचन गर्दै कृतिभित्रका कविताहरू आफूहरूले अमेरिकामा हुँदै लेखेको बताए । उनले कविता लेखनका केही प्रसंग सुनाउँदै यस्ता कृति परिचर्चाले लेखकलाई हौसला दिने र कृतिलाई जीवन्त राख्ने बताए ।

कवि अनिमेषले आफ्नो कविता यात्राबारेमा कृतिभित्रका केही कविता वाचन गरे ।

प्रतिक्रिया