शास्त्रीय मान्यताअनुसार तपाइँको आज

आज मिति २०८२ असोज ७ गते मंगलबार । सन् २०२५ सेप्टेम्बर २३ तारिख । नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थी नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल द्वितीया तिथि । आज बिहान ५ बजेर ५३ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर १ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन सामाजिक क्रियाकलाप एवम् परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मित्रजनसँग भेटघाट र मिष्ठान्न भोजनको अवसर आउनेछ । व्यापार व्यवसायबाट राम्रै आम्दानी हुने योग छ । कठिन ठानिएको काम पनि सहजै बन्ने देखिन्छ । रसरागको भाव जागृत होला । समग्रमा दिन मनोरञ्जनात्मक रहनेछ ।

बृष

दिन केही चुनौतीयुक्त रहला । भौतिक साधनको क्षतिले अनावश्यक धननाशको सम्भावना छ । हातहतियार एवम् सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनुपर्ने छ । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । अनावश्यक झमेलामा पर्ने योग रहेकोले नियमित कार्य अत्यन्त सजगताका साथ गर्नु हितकर हुनेछ ।

मिथुन

आँट र पराक्रम वृद्धिका साथै बौद्धिकता एवम् रचनात्मकता बढ्ने समय छ । धनजनमा वृद्धिका साथै समस्यामा मित्रजनबाट साथ समर्थन पाइएला । ठुला ब्यक्तिसँग फलदायी भेटघाट हुनसक्छ । विशेष काम तत्काल अघि नबढे पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिने छन् । खुशीको खबर सुन्न पाइने योग छ ।

कर्कट

रोकिएका कार्य योजना अघि बढ्नाले थप काम गर्ने हौसला मिल्ने समय छ । आरोग्यबल बढ्नुका साथै आयआर्जनको दृष्टिले उत्तम दिन छ । सुखद यात्राको सम्भावना छ । प्रयत्न गर्दा फसेको रकम उठ्नसक्ने योग छ । मनमा कता–कता हर्ष छाउला । आरोग्यबल बढ्ने छ । मिठो भोजन प्राप्त होला । साथीभाइको सहयोगले सुख बढ्ने छ ।

सिंह

नियमित कार्यमा जाँगर बढ्ने समय छ । तथापि आज कुनै पनि नयाँ कामचाहिँ शुरु नगर्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । रमाइलो यात्राको सम्भावना छ । यात्रा फलदायी नै रहला । घरमा पाहुनाको आगमनले खुशी प्रदान गर्ला । धनलाभको योग छ । आरोग्यबल बढ्ने छ ।

कन्या

दिन केही चुनौतीयुक्त रहला । चिताएको काम शुरु गर्दानगर्दै स्थगित गर्नुपर्ने अवस्था आउला । स्वास्थ्य केही कमजोर रहन सक्छ । खानपान एवम् दैनन्दिन व्यवहारमा ध्यान राख्नुहोला । प्रेममा धोका र धननासको योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सहयोगीजनले साथ दिए पनि काम अधुरै रहन सक्छ ।

तुला

मिश्रित फलदायी समय छ । नियमित कार्यमा जाँगर बढेपनि महत्वपूर्ण योजनामा व्यवधान खडा हुन सक्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । मित्रहरूसँग मनोरञ्जनात्मक भेछघाट एवम् छलफलले मन हर्षित तुल्याउला । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक

दौडधुप तथा व्यस्तता बढे पनि आजको दिन महत्वपूर्ण कार्य सम्पन्न हुने देखिन्छ । परिवारजनको इच्छा पूरा गर्न सकिने छ । पढाइलेखाइमा सफलता मिल्नेछ भने सामाजिक कार्यमा मन जाला । माता पितासँगको भेटघाटले मनमा हर्षउल्लास छाउने छ । कृषि क्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ने योग छ ।

धनु

सुखदायी समय छ । पारिवारिक सुख मिल्नुका साथै ब्यापार व्यवसायमा पनि फाइदा हुने देखिन्छ । विपरीत लिङ्गीको साथ सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । नियमित कार्यमा जाँगर बढ्नेछ । धन आर्जनको योग छ । दाम्पत्यसुख बढ्नेछ । साहस वृद्धि होला । सुख सुविधाको वस्तु खरिदमा केही खर्च हुन सक्छ ।

मकर

काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय रहन सक्ने दिन छ, होसियारी अपनाइ काम गर्नुहोला । शारीरिक प्रतिस्पर्धाका कार्यमा विशेष आकर्षण रहे पनि सफलता प्राप्तिमा भने अवरोध पैदा हुने देखिन्छ । व्यर्थै समयको नाश होला । मनमा त्यसै उदासिनता बढ्ने देखिन्छ । आजको दिन विश्वास गरेका व्यक्तिले पनि धोका दिनसक्ने प्रवल सम्भावना छ ।

कुम्भ

पराक्रम बढ्ने र सामाजिक काममा नाम रहने दिन छ । जागिरको काममा भने विशेष सजगता अपनाउनुपर्नेछ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिक लाभको योग छ । सामाजिक कार्यबाट मान–सम्मान पाउन सकिन्छ । प्रेमभाव बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन

आजको दिन उत्साहवर्द्धक रहला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै साथ–सहयोग र उपहार पाइने देखिन्छ । सुखद यात्राको योग पनि रहेको छ । सोचेको काम बन्नाले मन रमाउला । विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पराक्रम वृद्धिका साथै शत्रुसित लड्ने सामथ्र्य बढ्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार