ध्रुव कन्स्ट्रक्सनका सञ्चालकमाथि एक अर्ब २१ करोडको कर छली अभियोगसहित मुद्दा दर्ता

काठमाडौँ । कर छलीको आरोपमा ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवविरुद्ध एक अर्ब २१ करोड रुपैयाँ असुल गर्नुपर्ने मागसहित पाटन उच्च अदालतमा मुद्दा दर्ता गरिएको छ।

राजस्व अनुसन्धान विभागले देवमाथि राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको हो। विभागका अनुसार उनले वस्तु तथा सेवाको वास्तविक हस्तान्तरण नगरी बिलबिजक जारी गरेका, कारोबारको भुक्तानी बैंकमार्फत नगरेका र सिलसिलेवार रूपमा बिल नजनाएको पाइएको छ।

साथै, देवले मूल्य अभिवृद्धि कर र आय विवरण सही रूपमा दाखिला नगरेको, झुटा विवरण पेश गरेको र खरिदको स्रोत पुष्ट नभएको विभागको अनुसन्धानबाट खुलेको छ।

प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार राजस्व चुहावट नियन्त्रण ऐन, २०५२ को दफा २० (६) बमोजिम कारबाहीको मागसहित अभियोगपत्र दायर गरिएको हो।

देव सञ्चालित कन्स्ट्रक्सन कम्पनी काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरमा दर्ता छ र विभिन्न निर्माण, सामान आपूर्ति तथा परामर्श सेवामा संलग्न रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार