काठमाडौं । टोखा नगरपालिकाको वडा नम्बर ९ ले कोशेली घर निर्माणको प्रक्रिया अघि बढाएको छ । स्थानीय महिलाले उत्पादन गरेका वस्तु विक्रीका लागि कोशेली घरको निर्माण प्रक्रिया अघि बढाइएको हो । कोशेली घरमा ल्याएका वस्तुको विक्रीमा कुनै पनि शुल्क नलिने अर्थात् कोशेली घरको भाडा नतिर्नुपर्ने वडाध्यक्ष रामभक्त घिमिरेले बताए ।
अध्यक्ष घिमिरले डेढ वर्षमा वडाको ८० प्रतिशत पूर्वाधार सम्पन्न भएको छ । जसअन्तर्गत खानेपानीका लागि २ वटा बोरिङ निर्माण भएको छ । करिडोर पिच सम्पन्न, ९६६ मिटर सडक ढलान निर्माण कार्य सम्पन्न, ८०४ मिटर ढलको पाइप विस्तार कार्य सम्पन्न, ३५.८ मिटर ढुंगा छाप्ने कार्य, ३२४.१० ब्लक बिछ्याउने कार्य, २३७ मिटर सडक ग्राभेल निर्माण, २६०५.१० मिटर सडक कालोपत्रे, रिटेनिङ वाल÷प्लमवाल १५३.९० मिटर, मुक्तेश्वर मन्दिरको निर्माण, २८३३.१० मिटर रोड मार्किङ, ५५८.३० मिटर आगलाग नियन्त्रणका लागि पाइपको व्यवस्था, १२० वटा सडक बत्ती जडान गर्ने कार्य सम्पन्न भएका छन् ।
यस्तै वडाले बेलाबेलामा विभिन्न तालिम पनि सञ्चालन गरिरहेको वडाध्यक्ष घिमिरेले बताए । उनका अनुसार अहिलेसम्म वडाले १० वटा सीसी क्यामेर जडान सम्पन्न, रोजगारका लागि ५० जनालाई बेकरी र कुकको तालिम प्रदान, २० जनालाई मन्टेश्वरी तालिम प्रदान, ३५ जनालाई ल्यापटप कम्प्यूटर, सीसी क्यामेरा, मोबाइल मर्मत तालिम प्रदान, ३० जनालाई ब्यूटिसियन तालिम प्रदान, ४० जनालाई कौशीखेतीसम्बन्धी तालिम प्रदान गरेको छ । यस्तै, वडाले १८० जनालाई विउ मल वितरण गरेको छ ।
ज्येष्ठ नागरिकलाई भिटामिन खुवाउने योजना रहेको वडाध्यक्ष घिमिरेले बताए । उनका अनुसार वडाले हालसम्म महादेव खोलामा पुल हाल्नका लागि टेन्डर प्रक्रिया अघि बढाएको छ । वडाध्यक्ष घिमिरेले भने, ‘वडाको पहलमा प्रहरी प्रभागको भवन बन्दैछ । २५० मिटर बाटो पक्की गर्न प्रक्रिया अघि बढेको छ ।’
यसैगरी, वडाले स्वास्थयको क्षेत्रमा घरघरमा ज्येष्ठ नागरिकको हेरचाह र शिविर सञ्चालन गर्दैछ । राष्ट्रिय मिर्गौला केन्द्रसँगको सहकार्यमा किड्नी बचाऊ अभियान सञ्चालन अभियान पनि वडाले सञ्चालन गर्दैछ । त्यसैगरी, वडाले महिलाहरुको पाठेघरको चेकजाँच गर्दैछ ।
खानेपानीको क्षेत्रमा वडाले बोरिङको व्यवस्था गरेको छ । यसका अलावा खानेपानी मेलम्चीको पानी वडामा ल्याउन माघ १८ गते परीक्षण पनि गरेको छ । वडाको सरसफाई अभियानअन्तर्गत ६ जना कर्मचारीको व्यवस्था गरिएको छ । हरियालीका लागि एक घर एक विरुवा रोप्न लगाउने अभियान सञ्चालन पनि वडाले गरेको छ ।
मनव विकासको क्षेत्रमा वडाले विशेष ध्यान दिएको अध्यक्ष घिमिरेले बताए । उनका अनुसार सामुदायिक विद्यालयअन्तर्गत वैकल्पिक विद्यालयबारे विशेष ध्यान दिएको छ । वैकल्पिक शिक्षाअन्तर्गत शिक्षाको ज्योतिबाट वञ्चित भएका महिला दिदी बहिनी पढ्ने विद्यालय पनि यसै वडामा छ । जहाँ १५ देखि ६० वर्ष उमेर समूहका महिलाहरु अध्ययन गर्छन् । गत वर्षमात्रै यही विद्यालयबाट ७५ वर्षकी एक आमाले एसईई पास गरेकी छन् । विद्यालयमा वडाध्यक्षको व्यक्तिगत लगानीमा करिब २० लाखको हाराहारीमा ५वटा कोठा निर्माण सम्पन्न भएको छ ।
मुक्तेश्वर महादेवको मन्दिरमा कला संस्कृति संरक्षणअन्तर्गत पञ्चेबाजा, खैजडी बाजा, भजन, नेवारी बाजाका लागि आवश्यक सामग्री खरिद गरी तालिम सञ्चालन भइरहेको छ । यसैगरी, नेवारी लिपिको संरक्षणका लागि पनि काम भइरहेको छ ।






प्रतिक्रिया