काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ ।
शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।
चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहने प्रचण्ड प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
त्यस्तै उनले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्नेछन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशबीच समान सहअस्तित्व तथा साझा विजयीको नमुना बन्ने बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सहितको चिनियाँ टोली बीचको शिष्टाचार भेटमा सो कुरा बताएको चिनियाँ सञ्चारमाध्यमले जनाएका हुन् ।
साताव्यापी भ्रमणका लागि शनिवार चीन आइपुगेका प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबिच हाङचौँमा भेट वार्ता भएको छ । राष्ट्रपति सीले चीनले चीन तथा नेपालको सम्बन्धमा उच्च महत्त्व दिँदै नेपालसँग विकासको रणनीतिक सम्पर्कलाई सबल पार्दै विभिन्न व्यवहारिक सहयोग आदानप्रदान गर्ने आफूहरुको इच्छा रहेको बताएका थिए ।
देशको शासन र अनुसन्धानसम्बन्धी अनुभव आदानप्रदानलाई सबल पारी सम्बन्धमा नयाँ प्रगति बढाउने चाहना चीनको रहेको समेत सीले जानकारी गराएका छन् ।

प्रतिक्रिया