भोटेकोशी बाढीले बगाएको पुल सेनाद्वारा ५ दिनमै सम्पन्न

काठमाडौं । नेपाली सेनाले भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले बगाएको नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल  पाँच दिनमै बनाएको छ ।

बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुटेको थियो ।

एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्रथामिकतामा राखेर काम अघि बढायो ।

सरकारको योजनालाई दिनरात नभनी नेपाली सेनाले पाँच दिनमा नै ५७.९ मिटर लम्बाइको एक्रोब्रिज तयार पारेको छ । बिहीबार बेलुकादेखि सबै खालका सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।

देवीघाटमा एक्रोब्रिज सञ्चालनमा आएसँगै बाढीले आहात भएका बाढी प्रभावित सर्वसाधारणको मनमा केही हदसम्म भए पनि मल्हमपट्टी लगाउने काम भएको छ ।

प्रतिक्रिया