२० दिनदेखि मुगु सडकविच्छेद, नागरिकको दैनिकी प्रभावित

काठमाडौं। अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी र झ्यारी–गमगढी सडक खण्ड विगत २० दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । विकट भूगोल र निरन्तरको वर्षाले गर्दा पहिरो पन्छाउन नसक्दा हिमाली जिल्ला मुगुको राष्ट्रिय सडक सञ्जालसँगको सम्पर्क विच्छेद भएको हो ।

लामो समयदेखि यातायात ठप्प हुँदा जिल्ला सदरमुकाम गमगढीसहित आसपासका ग्रामीण भेगमा खाद्यान्न, खाना पकाउने एलपी ग्यास, निर्माण सामग्री तथा औषधिजस्ता अत्यावश्यक वस्तुको चरम अभाव सिर्जना भएको छ । बजारमा ग्यास र खाद्यान्न सकिएपछि सर्वसाधारणको भान्सादेखि होटेल व्यवसायसमेत नराम्ररी प्रभावित भएका छन् ।

सडक अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट दैनिक उपभोग्य तथा निर्माणका सामग्री लिएर आएका सयौँ मालबाहक सवारी साधनहरू बाटोमै रोकिएका छन्। राजापुरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल बोकेर आएका ९ वटा ट्रकसहित स्थानीय व्यापारीका गाडीहरू झ्यारी खोला र ताल्चाको बीचमा अलपत्र परेका हुन् । हप्तौँदेखि बाटोमै थुनिएका चालक तथा सहचालकहरू सडक र अस्थायी छाप्रामा कष्टकर बास बस्न बाध्य छन् ।

‘सडक बन्द हुँदा मुगुबाट बाहिर निकासी गर्न लागिएको २० देखि २५ लाख रुपैयाँ बराबरको स्याउ गाडीमै अड्किएर कुहिन थालेको छ । स्याउ कुहिएर गन्हाउन थालेपछि हामी व्यापारीहरूले लाखौँको घाटा व्यहोर्नुपरेको छ,’ स्थानीय व्यापारी कर्णबहादुर बुढाले भने ।

सडक स्तरोन्नतिका नाममा निर्माण व्यवसायीले जथाभावी ‘डबल कटिङ’ गर्दा कमजोर बनेको पहाड खसेर पहिरो गएको स्थानीयको आरोप छ ।

यस्तै स्थानीय नरेन्द्रबहादुर शाहीले अव्यवस्थित डोजर आतंकका कारण सडक मात्र नभई आसपासका बस्ती र जमिनसमेत उच्च जोखिममा परेका छन् ।

‘जथाभावी बाटो खन्दा गएको पहिरोले घरजग्गा नै बगाइदियो। अहिले मेरो ६ जनाको परिवार पूर्ण रूपमा बिचल्लीमा परेको छ । एकातिर हामी घरबारविहीन बनेका छौँ, अर्कोतिर सडक डिभिजन र प्रशासनले समयमै पहिरो पन्छाउन पर्याप्त मेसिन र जनशक्ति नै खटाएको छैन,’ उनले भने ।

यता सडक आयोजना कार्यालयले भने प्रतिकूल मौसम र जटिल भूगोलका कारण काममा केही ढिलाइ भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार