काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा भएको भनिएको ड्रोन आक्रमणको असफल प्रयासपछि युरोपेली संघ (ईयू)ले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
आयरल्यान्डमा आयोजित ईयू विदेशमन्त्रीहरूको बैठकका क्रममा युरोपेली संघकी विदेश नीति प्रमुख काया कालासले रुसको सैन्य–औद्योगिक क्षेत्रसँग सम्बन्धित थप एक हजार ६ सय व्यक्ति तथा कम्पनीलाई प्रतिबन्धको सूचीमा राख्ने तयारी भइरहेको जानकारी दिइन्।
कालासले विमानस्थलमा भएको आक्रमण प्रयासलाई राज्य–प्रायोजित आतंकवादको संज्ञा दिँदै घटनाबारे स्पष्टीकरण माग्न ब्रसेल्सस्थित रुसी राजदूतलाई बोलाइएको पनि बताइन्।
जर्मनीले गत अगस्ट ४ मा लाइपजिग–हाले विमानस्थलमा भएको आक्रमण प्रयासमा रुसको संलग्नता रहेको भन्दै सेप्टेम्बर १ मा औपचारिक रूपमा आरोप लगाएको थियो। त्यसपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनले नेटो महासचिव मार्क रुटेसँग ब्रसेल्समा भएको भेटवार्तापछि रुसमाथिको प्रतिबन्ध थप कडा बनाइने स्पष्ट पारेकी छन्।
उनले आक्रमण सफल भएको भए ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने बताउँदै यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिइन्।
यता, रुसले भने जर्मनीलगायत ईयूका आरोपहरू अस्वीकार गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जर्मनीले लगाएको आरोपलाई गम्भीर गल्तीको संज्ञा दिँदै सार्वजनिक गरिएका प्रमाण बनावटी भएको दाबी गरेका छन्।
पुटिनले चान्सलर फ्रेडरिक मर्र्ज नेतृत्वको जर्मन सरकारले आन्तरिक राजनीतिक स्वार्थका लागि रुसमाथि आरोप लगाएको समेत टिप्पणी गरेका छन्।
आयरल्यान्डमा भएको बैठकमा सहभागी ईयू सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले जर्मनीप्रति पूर्ण ऐक्यबद्धता जनाएका छन्। बैठकमा युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली तथा आर्थिक सहयोग निरन्तर उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो।
उक्त बैठकमा युक्रेन, बेलायत, क्यानडा, नर्वे, आइसल्यान्ड र स्वीट्जरल्यान्डका विदेशमन्त्रीहरूको पनि सहभागिता रहेको थियो।


प्रतिक्रिया