काठमाडौं । नेपालमा पहिलोपटक भएको आँप मेला उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा असार ७ देखि ९ गतेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा मेला भएको थियो ।
मेला अवधिभर १० हजार जनाले अवलोकन गरेको र २७ हजार किलो आँप बिक्री भएको आयोजकले जनाएको छ । पहिलो दिन वालनट बिस्ट्रो पानीपोखरीमा मेलाको उद्घाटन भएको थियो । वालनट बिस्ट्रो, काठमाडौं अर्गानिक्स बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन्स झम्सिखेलमा बिक्री स्टलहरू राखिएका थिए ।
कार्यक्रमको उद्घाटन समारोहमा शुक्रबार १५ सय जना उपस्थित थिए । सो दिन विभिन्न ८ हजार किलो आँप बिक्री भएको थियो । यस्तै दोस्रो दिन १२ हजार किलो र अन्तिम दिन आइतबार ७ हजार किलो आँप बिक्री भयो । मेलामा माल्दा, देशरी, बम्बै, जर्दा, कृष्णभोग, नजरिया बम्बै, अम्रपाली, कलकत्तिया, दुधया माल्दा र गुलाबखाससहित विभिन्न भेराइटीका आँपहरु प्रदर्शनमा राखिएका थिए ।
उद्घाटन कार्यक्रमपछि काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिन नै आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरु प्रदर्शनी एवं बिक्री वितरण गरिएका थिए ।मेलामा सर्लाही, सप्तरी, र सिराहाका ५० जना किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू प्रदर्शनीमा राखिएका थिए ।
मेला अवधिभर विभिन्न प्यानल डिस्कसन कार्यक्रम पनि भएका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा किसानहरुले सरकारबाट सहयोग प्राप्त नभएको गुनासो गरेका थिए भने बजार व्यवस्थापकले बजारका समस्या र विज्ञले बजार कसरी चल्छ भन्ने विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया