काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई प्रशिक्षित गर्न पाठ्यक्रम तयार पारेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, पार्टीको विधान, नीति तथा चुनावी वाचापत्रमा आधारित पाठ्यक्रम लिडरसिप एकेडेमीले तयार गरेको हो । वडा सदस्यदेखि पालिका प्रमुखसम्मका आकांक्षीले अनिवार्य प्रशिक्षण लिएर योग्यता परीक्षण गर्नुपर्ने पार्टीले जनाएको छ ।
पाठ्यक्रममा स्थानीय सरकारका काम, कर्तव्य र अधिकार, बजेट निर्माण, कर सङ्कलन, विकास योजना, सार्वजनिक खरिद, सुशासन, डिजिटल सेवा प्रवाह तथा विपद् व्यवस्थापनलगायत विषय समेटिएका छन् ।
त्यस्तै, न्यायिक समितिको कार्यक्षेत्र, स्थानीय कानुन निर्माण, आर्थिक पारदर्शिता र जनतासँग प्रभावकारी संवाद गर्ने सीपसम्बन्धी प्रशिक्षण पनि दिइनेछ ।
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा बनेको उम्मेदवार छनोट रूपरेखाअन्तर्गतको पाठ्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गर्न सकिने रास्वपाले जनाएको छ ।






प्रतिक्रिया