काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । पृथ्वी राजमार्ग, कान्ति लोकपथ, मुग्लिन–नागढुंगा सडकखण्डलगायत बाटो अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार (असोज ९) बिहान विज्ञप्ति जारी गर्दै अर्को जानकारी नगराइन्जेलसम्मलाई पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमनमा रोक लगाएको छ । पृथ्वी राजमार्गको कृष्णभीरसहित सात ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
उता, जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान सूचना जारी गर्दै अर्को जानकारी नगराइन्जेलसम्मलाई मुग्लिन–नारायणगढ सडकखण्ड बन्द रहने जनाएको छ ।
अविरल वर्षासँगै कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा पहिरो खसेकाले उक्त सडक पनि अवरुद्ध छ ।
बीपी राजमार्ग पनि अवरुद्ध छ । शुक्रबार बिहान ४ः३० बजेतिर बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७, चारसयबेँसी र रोशी–८, गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसबाहेक विभिन्न सडकखण्डमा सम्भावित जोखिमलाई मध्यनजर गरेर रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।



प्रतिक्रिया