काठमाडौं । चिनियाँ इलेक्ट्रिक सवारी साधन उत्पादक कम्पनी बीवाईडी र नेपालका लागि यसको आधिकारिक वितरक साइमेक्स इङ्कले हालै रसुवा लगायतका क्षेत्रमा आएको विनासकारी बाढी तथा पहिरो प्रभावितहरूको राहत एवम् पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
सो रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सञ्चालित सरकारी कोषमार्फत प्रभावित क्षेत्रमा उद्धार, उपचार, तत्काल राहत सामग्री वितरण, पुनस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा उपयोग गरिने बताइएको छ ।
रसुवा नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका हुनुका साथै बीवाईडीका सवारी साधनहरू नेपाल आयात गरिने मुख्य मार्ग पनि हो ।
बाढीका कारण सो क्षेत्रमा ठुलो जनधनको क्षति भएपछि दुवै कम्पनीले यो सहयोगको घोषणा गरेका हुन् ।
बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक महाप्रबन्धक लियु कुएल्याङले नेपालमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दै यस कठिन घडीमा हामी प्रभावित परिवार, राहत कार्यमा खटिएका उद्धारकर्ता र नेपाली जनताको साथमा रहेको बताएका छन् ।
बीवाईडीले जारी गरेको प्रेस नोटमा भनेका छन्, “बीवाईडी र साइमेक्सको यो सहयोगले सरकारी पुनःस्थापना प्रयासमा मद्दत पुग्ने र प्रभावित क्षेत्र शीघ्र पुनरुत्थान हुनेमा हामी विश्वस्त छौँ ।”
बीवाईडीको नेपाल साझेदार साइमेक्स इङ्कले पनि विद्युतीय यातायात प्रणालीको विकाससँगै अप्ठ्यारो परिस्थितिमा सामाजिक उत्तरदायित्व वहन गर्दै देश र जनताको साथमा उभिनु आफूहरूको दायित्व भएको जनाएको छ ।
विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने भन्दै दुवै कम्पनीले प्रभावित समुदायको शीघ्र पुनरुत्थानको कामना गरेका छन् ।



प्रतिक्रिया