बञ्चरेडाँडाका स्थानीय आन्दोलित

बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडी एक घण्टा रोकेर विरोध जनाएका छन्। वैज्ञानिक र व्यवस्थित रूपमा फोहोर व्यवस्थापन नभएको भन्दै गाउँभर दुर्गन्ध फैलिन थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्न बाध्य भएको सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलले बताए। उनका अनुसार १५ दिनभित्र माग सम्बोधन नभए बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न रोक लगाइनेछ।

स्थानीयले फोहोरबाट निस्कने लिच्चेड व्यवस्थापन, प्रभावित क्षेत्रको जग्गा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अधिग्रहण, स्थानीयको स्वास्थ्य र शिक्षामा विशेष व्यवस्था तथा रोजगारीको सुनिश्चितता गर्न माग गरेका छन्। लिच्चेड खोलामा मिसिन थालेको र कुहिने तथा नकुहिने फोहोर छुट्याउन नसक्दा ल्यान्डफिल साइटको ड्याम्पसमेत भरिएको उनीहरूको गुनासो छ।

काठमाडौं उपत्यकासहित २१ वटा स्थानीय तहको फोहोर सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको छ। २० वर्षका लागि निर्माण गरिएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अहिले फोहोरको चुली लाग्न थालेको छ। स्थानीयका अनुसार बञ्चरेडाँडा पनि सिसडोलजस्तै डम्पिङ साइटमा परिणत हुँदै गएको छ।

धादिङको धुनीबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामा रहेको बञ्चरेडाँडामा चार वर्षदेखि फोहोर विसर्जन हुँदै आएको छ। त्यसअघि १७ वर्षसम्म सिसडोलमा फोहोर फालिएको थियो।

फोहोरका कारण गाउँमा क्यान्सर, मुटु तथा मिर्गौलाजस्ता गम्भीर रोगका बिरामी बढेको स्थानीयको दाबी छ। झाडापखाला, टाइफाइड, श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या पनि घरैपिच्छे देखिन थालेको उनीहरूको गुनासो छ। फोहोरका कारण कृषि उत्पादन घट्नुका साथै पशुपन्छी पालनमा समेत असर परेको स्थानीयले बताएका छन्।

स्थानीयले १५ दिनभित्र आफ्ना माग सम्बोधन नगरे फोहोर विसर्जन पूर्ण रूपमा रोक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार