नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु, ५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी

काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्युरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक्स्पोको उद्घाटन गरेसँगै नेपाल मोबिलिटी एक्स्पो–२०२६ औपचारिक रूपमा सुरु भएको हो ।

साउन ३१ गतेसम्म सञ्चालन हुने यसपटकको एक्स्पो गत वर्षको तुलनामा अझ भव्य र व्यापक हुने आयोजकले जनाएको छ । एक्स्पोका संयोजक गौरव शारडाका अनुसार यसपटकको प्रदर्शनीमा विश्व बजारमा चर्चित तथा अत्याधुनिक प्रविधिका सवारी साधनलाई विशेष प्राथमिकता दिइएको छ ।

उनका अनुसार एक्स्पोमा चीनका राष्ट्रपतिले प्रयोग गर्ने लक्जरी ब्रान्डका रूपमा परिचित ‘हङसी’ पहिलोपटक नेपाली मञ्चमा सार्वजनिक हुँदैछ । त्यससँगै दर्जनौँ नयाँ विद्युतीय तथा हाइब्रिड सवारी साधन पनि प्रदर्शनीमा राखिएका छन् । यी नयाँ मोडलहरूले आगामी दिनमा नेपालको सडक र यातायातको स्वरूप कता जाँदैछ भन्ने संकेत गर्ने आयोजकको विश्वास छ ।

साना आकारका विद्युतीय कारदेखि प्रिमियम एसयूभीसम्म, स्मार्ट स्कुटरदेखि सिटी बससम्मका विभिन्न सवारी साधन एउटै छानामुनि प्रदर्शनमा राखिएका छन् । यसले केही दिनका लागि भृकुटीमण्डपलाई केवल सवारी साधनको प्रदर्शनीस्थलमा सीमित नराखी नेपालको बदलिँदो मोबिलिटी क्षेत्रको विकास र रूपान्तरणलाई प्रत्यक्ष देखाउने थलो बनाउने नाइमा बताउँछ ।

अटोमोबाइल उद्योगका लागि यसपटकको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ केवल व्यापारिक मेला वा नयाँ सवारी साधन प्रदर्शन गर्ने कार्यक्रम मात्र नभएको संयोजक शारडाको भनाइ छ । उनका अनुसार एक्स्पोले नेपाली अटोमोबाइल बजारमा भइरहेको परिवर्तनसँगै बजारको नयाँ शक्ति–सन्तुलनसमेत देखाउनेछ ।

विशेषगरी विद्युतीय सवारीको बढ्दो आकर्षण, नयाँ अन्तर्राष्ट्रिय ब्रान्डको नेपाल प्रवेश, स्मार्ट प्रविधिमा आधारित सवारी साधनको विस्तार र उपभोक्ताको बदलिँदो रोजाइले नेपाली अटोमोबाइल बजारको स्वरूप नै परिवर्तन गरिरहेको उनको भनाइ छ ।

यसपटकको एक्स्पोमा सार्वजनिक तथा प्रदर्शन गरिने ४० भन्दा बढी नयाँ मोडलले नेपाली सडक अब पेट्रोल र डिजेलबाट चल्ने परम्परागत सवारी साधनमा मात्र निर्भर नरहेको सन्देश दिने आयोजकको दाबी छ । नेपाली बजारमा ब्याट्री, सफ्टवेयर, कनेक्टिभिटी र स्मार्ट प्रविधिमा आधारित सवारी साधनको उपस्थिति निरन्तर बढ्दै गएको शारडाले बताए ।

इन्धनबाट विद्युतीय सवारीतर्फ भइरहेको तीव्र रूपान्तरण, विश्वका विभिन्न नयाँ ब्रान्डहरूको नेपाली बजारमा प्रवेश, अत्याधुनिक स्मार्ट प्रविधिले सुसज्जित सवारी साधन तथा चाडपर्वअघि बढ्ने बजारको उत्साहलाई एउटै स्थानमा देख्न सकिने भएकाले यसपटकको एक्स्पो विशेष बन्ने आयोजकको विश्वास छ ।

संयोजक शारडाका अनुसार नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ लाई यसपटक सामान्य अटोमोबाइल शोका रूपमा मात्र हेर्न मिल्दैन । उनका अनुसार यो नेपालको समग्र मोबिलिटी क्षेत्रको वर्तमान अवस्था, भविष्यको सम्भावना र विश्व बजारमा विकसित भइरहेका नयाँ प्रविधिलाई एकै ठाउँमा प्रस्तुत गर्ने ‘मोबिलिटीको महाकुम्भ’ बन्नेछ ।

एक्स्पोमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुँदैछन् । आयोजकका अनुसार प्रदर्शनीमा २६ वटा चारपांग्रे, १८ वटा दुईपांग्रे तथा ८ वटा व्यावसायिक सवारी ब्रान्डको सहभागिता रहेको छ ।

एक्स्पोमा विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादन तथा मोडलसमेत सार्वजनिक गर्नेछन् । आयोजकले प्रदर्शनी अवधिभर ४० भन्दा बढी नयाँ उत्पादन तथा मोडल सार्वजनिक हुने दाबी गरेको छ । यसले नेपाली अटोमोबाइल बजारमा नयाँ प्रविधि र अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

चाडपर्वको मौसम सुरु हुनुअघि आयोजना गरिएको एक्स्पोले नयाँ सवारी साधन खरिद गर्न चाहने उपभोक्ताका लागि पनि विभिन्न ब्रान्ड, मोडल, प्रविधि र मूल्यको तुलनात्मक जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । साथै, विद्युतीय, हाइब्रिड तथा परम्परागत सवारी साधनबीचको प्रतिस्पर्धालाई समेत एक्स्पोले नजिकबाट देखाउनेछ ।

यसरी हेर्दा दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ नेपाली अटोमोबाइल बजारमा भइरहेको तीव्र परिवर्तन, विद्युतीय सवारीको बढ्दो प्रभाव र विश्व बजारका नयाँ प्रविधिको प्रवेशलाई एकै ठाउँमा प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा देखिएको छ ।

प्रतिक्रिया