काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपमा अटोमोबाइलको चहलपहल बढ्ने भएको छ । आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना हुँदैछ भने त्यसलगत्तै भदौ ९ देखि १४ गतेसम्म ‘नाडा अटो सो २०२६’ आयोजना हुने भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्ने यस वर्षको मोबिलिटी एक्स्पोमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा २६ चारपांग्रे, १८ दुईपांग्रे र ८ व्यावसायिक सवारी ब्रान्ड सहभागी हुनेछन् ।
आयोजकका अनुसार एक्स्पोमा ४० भन्दा बढी नयाँ उत्पादन तथा मोडल सार्वजनिक हुनेछन् । विद्युतीय तथा हाइब्रिड सवारीको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यसपटकको प्रदर्शनीमा ईभी, हाइब्रिड, स्मार्ट स्कुटर, प्रिमियम एसयूभीदेखि व्यावसायिक सवारीसम्मलाई प्राथमिकता दिइएको छ ।
नाइमाका संयोजक गौरव शारडाले यसपटकको एक्स्पो अटोमोबाइल प्रदर्शनीमा मात्रै सीमित नरहने दाबी गरेका छन् । उनका अनुसार नेपाली अटोमोबाइल बजारमा भइरहेको प्रविधिगत परिवर्तन र भविष्यको मोबिलिटीलाई एउटै छानामुनि देखाउने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो ।
“५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदैछन् । २६ वटा चारपांग्रे, १८ वटा दुईपांग्रे र आठ वटा कमर्सियल भ्यान रहनेछन् । ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक हुँदैछन्,” शारडाले भने, “यो अटोमोबाइल क्षेत्रको महाकुम्भ नै हो । समग्र मोबिलिटी समाधानदेखि नयाँ प्रविधिसम्म एउटै छानामुनि देख्न पाइन्छ ।”
हङ्सी र आर्कफक्स मुख्य आकर्षण
यसपटकको एक्स्पोको प्रमुख आकर्षणमध्ये चिनियाँ लक्जरी ब्रान्ड हङ्सी रहने भएको छ । हङ्सी पहिलोपटक नेपाली बजारमा औपचारिक रूपमा प्रस्तुत हुन लागेको हो । प्रिमियम विद्युतीय एसयूभीसहित नेपाली ग्राहकसमक्ष आउने तयारीमा रहेको यो ब्रान्डको प्रवेशले प्रिमियम ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, लक्ष्मी समूहले पहिलोपटक नेपाल भित्र्याउन लागेको आर्कफक्स पनि एक्स्पोको अर्को आकर्षण बन्नेछ । आर्कफक्सको कुन मोडल सार्वजनिक गर्ने भन्ने विषयमा भने कम्पनीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
एक्स्पोमा वुलिङका चार नयाँ मोडल, एमजी माजेस्ट्रो, निसानको नयाँ गाडी, चेरी क्यूक्यू–३, ओमोडा, आईकार, बीएआईसी, किया, टोयोटा, म्याक्सस, ग्रेट वाल मोटर्स, काइयी, लिपमोटर, स्काइवर्थ–किटनलगायतका ब्रान्डका नयाँ मोडलसमेत प्रदर्शनमा राखिने आयोजकले जनाएको छ ।
व्यावसायिक सवारीतर्फ डोङफेङको २८ सिटे सिटी बस पनि पहिलोपटक नेपाली बजारमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।
ईभीतर्फ केन्द्रित हुँदै अटो बजार
नेपालको चारपांग्रे बजार पछिल्लो समय पेट्रोल र डिजेलबाट विद्युतीय सवारीतर्फ तीव्र गतिमा अघि बढिरहेको छ । एक्स्पोमा सार्वजनिक हुने अधिकांश नयाँ मोडल विद्युतीय वा विद्युतीकरणमा आधारित हुने आयोजकको भनाइ छ ।
तीव्र चार्जिङ प्रविधि, स्मार्ट कनेक्टिभिटी, उन्नत चालक सहायता प्रणाली, ठूलो डिजिटल डिस्प्ले तथा सुरक्षा प्रविधि नयाँ पुस्ताका सवारीको साझा विशेषता बन्दै गएको छ ।
नाइमाले दुईपांग्रे सवारीलाई पनि यसपटक विशेष प्राथमिकता दिएको छ । जेडएक्स मोटरका उच्च क्षमताका स्पोर्ट्स बाइक, एनआईयू र याडेयाका स्मार्ट विद्युतीय स्कुटर, बजाज र टिभिएसका नयाँ मोडल, अल्ट्राभायोलेटको नयाँ लन्च तथा मोर्बिडेलीका प्रिमियम मोटरसाइकलसहित विभिन्न ब्रान्डका दुईपांग्रे सवारी प्रदर्शनीमा रहनेछन् ।
‘मोबिलिटी’सँगै ज्ञानको मञ्च
एक्स्पोमा नयाँ सवारीको प्रदर्शन र बिक्रीबाहेक उद्योग, नीति, प्रविधि तथा भविष्यको मोबिलिटीबारे छलफल गर्न ‘नलेज–बेस्ड’ कार्यक्रमसमेत आयोजना गरिने भएको छ ।
नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले गत वर्षको तुलनामा यसपटकको एक्स्पोमा व्यापक सुधार र परिवर्तन गरिएको बताए ।
“नयाँ–पुराना गरी ४० भन्दा बढी गाडी सार्वजनिक हुँदैछन् । यति धेरै नयाँ लन्च भएकाले ग्राहकले धेरै नयाँ कुरा एकै ठाउँमा देख्न पाउनेछन्,” गोल्छाले भने, “ज्ञानमूलक कार्यक्रमले नेपालको अटोमोबाइल क्षेत्रलाई थप चलायमान बनाउनेछ । चाडपर्वअघि ग्राहकले यस्तै अटो शोको प्रतीक्षा गरिरहेका हुन्छन् ।”
उनका अनुसार एक्स्पोले यसअघिका धेरै बेन्चमार्क तोड्नेछ । नयाँ गाडी खरिद गर्न चाहने ग्राहकसँगै सवारीसाधनको भविष्य, प्रविधि र मोबिलिटीबारे जानकारी लिन चाहनेहरूका लागि पनि एक्स्पो उपयोगी हुने आयोजकको दाबी छ ।
पार्किङको समस्या समाधान गर्न छुट्टै व्यवस्था
भृकुटीमण्डपमा हुने प्रदर्शनीमा पार्किङको समस्या हुने गरेको भए पनि यसपटक त्यसलाई व्यवस्थापन गर्न नेपाल प्रहरी क्लबमा रहेको पार्किङ स्पेस प्रयोग गरिने नाइमाले जनाएको छ ।
आयोजकका अनुसार चाडपर्वअघि आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो र त्यसपछि हुने नाडा अटो सोले केही समयदेखि सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चारपांग्रे र दुईपांग्रे दुवै क्षेत्रमा विद्युतीय प्रविधिको विस्तार, स्मार्ट प्रविधिको प्रयोग तथा नयाँ अन्तर्राष्ट्रिय ब्रान्डको बढ्दो प्रवेश मुख्य आकर्षण बन्ने देखिएको छ ।
यसर्थ, भृकुटीमण्डपमा हुने यसपटकको एक्स्पो नयाँ गाडी हेर्ने र खरिद गर्ने अवसर मात्र नभई नेपालमा आगामी वर्षहरूमा देखिने सवारी प्रविधिको झलक दिने मञ्चका रूपमा समेत रहने आयोजकको दाबी छ ।





प्रतिक्रिया