नबील बैंकको अधिकांश वित्तीय सूचकमा सुधार

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार हासिल गरेको जनाएको छ।

बैंकको कुल कर्जा गत आर्थिक वर्षको तुलनामा १२.५२ प्रतिशतले वृद्धि भई चार खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ भने कुल निक्षेप छ खर्ब रुपैयाँ पुगेको छ। यससँगै वाणिज्य बैंकहरूको कुल कर्जा बजारमा नबिल बैंकको हिस्सा ९ प्रतिशतभन्दा माथि पुगेको बैंकले जनाएको छ।

कर्जा विस्तारसँगै बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशतले वृद्धि भई १७ अर्ब रुपैयाँ नाघेको छ। त्यस्तै, ब्याज तथा गैरब्याज आम्दानीमा भएको सुधारका कारण कुल सञ्चालन आम्दानी ६.३ प्रतिशतले बढेर २२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

यस अवधिमा बैंकले निष्क्रिय कर्जा व्यवस्थापनमा पनि उल्लेखनीय प्रगति गरेको जनाएको छ। कुल निष्क्रिय कर्जा अनुपात ०.२८ प्रतिशत बिन्दुले घटेर ४.२० प्रतिशतमा झरेको छ भने खुद निष्क्रिय कर्जा अनुपात ०.५८ प्रतिशतमा कायम रहेको छ। बैंकले कुल निष्क्रिय कर्जाको करिब ११९ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था गरेको जनाएको छ, जसले कर्जा गुणस्तर थप सुदृढ भएको संकेत गर्छ।

वित्तीय सूचकमा आएको सुधारसँगै बैंकको सञ्चालन मुनाफा २५ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद मुनाफा ३३.५० प्रतिशतले वृद्धि भई सात अर्ब ९० करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (EPS) २८ रुपैयाँ ३६ पैसा रहेको छ।

वितरणयोग्य मुनाफामा पनि उल्लेखनीय वृद्धि भएको छ। बैंकको वितरणयोग्य मुनाफा ३४ प्रतिशतले बढेर पाँच अर्ब १६ करोड रुपैयाँ पुगेको छ। प्रतिसेयर वितरणयोग्य मुनाफा १९ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ। यो रकम गत वर्ष जारी गरिएको अग्राधिकार सेयरको लाभांश विनियोजनपछिको वितरणयोग्य मुनाफा हो।

आर्थिक तथा वित्तीय क्षेत्रमा चुनौती कायम रहे पनि संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र सुदृढ वित्तीय आधारका कारण नबिल बैंकले आफ्नो समग्र वित्तीय अवस्था थप मजबुत बनाएको जनाएको छ। समीक्षा अवधिमा बैंकको कुल वासलात आकार १५ प्रतिशतले वृद्धि भई ७३४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। साथै, पुँजी पर्याप्तता अनुपात, पुँजी प्रतिफल तथा कुल सम्पत्तिमा प्रतिफल (ROA) लगायतका प्रमुख वित्तीय सूचकमा पनि उल्लेखनीय सुधार देखिएको बैंकले जनाएको छ।

प्रतिक्रिया